केपी ओलीको शैली अपनाउँदै कमल थापा, विरोधीलाई भोट नदिन सूचि वितरण
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन्। एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुन थापा र लिङदेन दुवैले हात जोडेर आफ्नो पक्षमा मतदाता तान्ने प्रयास जारी राखेका छन्।
उपाध्यक्षका उम्मेदवार विक्रम पाण्डेले छाडेपछि थापा समूह समूहको भोट माग्न व्यस्त रहेका छन् भने लिङदेन सबै प्रतिनिधि मतदातासम्म पुग्ने दौडमा छन्। अध्यक्षका उम्मेदवार थापालाई राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराको साथ छ भने अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले लिङदेनलाई समर्थन गरेका छन्।
थापा पक्षले उम्मेदवारको सूचि थमाएर ब्लकमा भोट मागेका छन् भने लिङदेनले उम्मेदवारको सूची दिइसकेका छैनन्। ‘हामीलाई थापाले बोलाएर ४२ उम्मेदवारको भोट हाल्ने सुची दिनु भएको छ,’एक जना प्रतिनिधिले भने,‘भोट हाल्नु पर्ने र हाल्नु नपर्नेको सुची झोलामा छ।’
चितवनमा नेकपा एमालेको महाधिवेशनमा केपी ओली पक्षले भोट नहाल्नेको सूचि वितरण गरेजस्तै राप्रपाको महाधिवेशनमा थापा र राणाको सेटिङमा भोट नहाल्नेको सूचि प्रतिनिधिहरूको हातमा पुगेको छ। तर, भोट नहाल्नेको सूचि पाएका प्रतिनिधिले सार्वजनिक नै भने गरेका छैनन्।
लिङ्देन थापा गुटको नेताका रूपमा चिनिन्छन्। तर एकता महाधिवेशनमा उनै थापासँग लिङदेन भिड्दै छन्। ‘हो, मैले पनि कमल थापाको समर्थन गरेको हुँ,कमल थापा दोस्रो भीमसेन थापा हो भनेर टेलिभिजनमा अन्तरवार्ता दिँदै हिँडे,’लिङदेनले प्रतिनिधिसँग भोट माग्दै भने,‘त्यो भन्दा ठुलो समर्थन के हुन्छ?’
लिङ्देनको पक्षमा माहोल देखेर हौसिएका कोर टिमका सदस्यले विद्युतीय मेसिन र मत गणनाको योजना लिङदेनलाई सुनाएका छन्।
उनीहरू विद्युतीय मेसिनबाट हुने मतदानमा स्वयंसेवक मात्र खटाएर नहुने भन्दै अध्यक्षका प्रत्याशी कमल थापाकै हाराहारीमा आफ्नो टिमबाट प्रतिनिधि राख्नु पर्ने लबिङ समेत गर्दैैछन्।
मंसिर १७, २०७८ शुक्रबार २२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।