प्रदेश १ मा गुरुराजलाई विश्वप्रकाश र राजीवको भर, थापालाई देउवाको साथ
इटहरी : नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाले उम्मेदवारी दर्ता गराएका छन्। थापाले संस्थापन शेरबहादुर देउवा र पुर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पक्षको संयुक्त प्यानलसहित उम्मेदवारी दिएका छन्।
घिमिरेले संस्थापन इतर डा. शेखर कोइराला पक्षको प्यानलसहित उम्मेदवारी दिएका छन्। थापाको प्यानलबाट उपसभापतिमा, महामन्त्रीमा, सहमहामन्त्री सहित ९१ सदस्यीय प्रदेश कार्यसमितिमा दुवै पक्षले प्यानल खडा गरेर उम्मेदवारी दिएका हुन्।
सबैभन्दा बढी प्रतिनिधि रहेको झापा, मोरङ र सुनसरीमा घिमिरेको प्रभाव बलियो देखिएको छ। थापाको गृह जिल्ला झापामै थापा कमजोर अवस्थामा देखिएका छन्।
थापा झापा जिल्ला अधिवेशनमा विश्वप्रकाश शर्माका उम्मेदवार राम बहादुर कट्टेलको पक्षमा खुलेनन्। जिल्ला सभापतिमा सहयोग नगरेका कारण पुर्वमहामन्त्री सिटौला पक्षका थापाले शर्माको समर्थन नपाउने आकलन गरिएको छ।
लामो समय सिटौलाको प्रभावमा रहेको झापामा उनै थापाको बोलवाल देखिन्छ। त्यसैको बदला लिन पनि शर्मा पक्षका नेताहरू घिमिरेको पक्षमा लागेका छन्।
शर्मा २०५७ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदा उनकै समितिका सहमहामन्त्री हुन घिमिरे। एउटै समितिमा काम गरेका कारण पनि शर्मा र घिमिरेबीच घनिष्ठता देखिएको छ।
नेविसंघको २०५९ को चितवन अधिवेशनमा शर्माकै सहयोगमा घिमिरे सभापतिमा निर्वाचित भएका थिए। त्यसपछि फरक टिममा लागे पनि व्यक्तिगत निकटताले अधिवेशनमा प्रभाव पार्ने देखिएको छ।
घिमिरेको मोरङ र सुनसरीमा बलियो प्रभाव रहेको छ। निवर्तमान जिल्ला सभापति राजीव कोइरालाले घिमिरेलाई सहयोग गर्ने भएका छन्।
टिमले घिमिरेलाई नै टिकट दिएका कारण आफू टिम भन्दा बाहिर जान नसक्ने कोइरालाले बताए। कोइरालाले खुलेर सहयोग गर्ने बताएपछि उनका समर्थकहरू घिमिरेको पक्षमा लागि परेका छन्।
पहाडी जिल्लाहरू तेह्रथुम, भोजपुर, सङ्खुवासभा र खोटाङमा संस्थापन इतर समूहकै नेतृत्व आएको छ। त्यस्तै इलाम र पाँचथरमा देउवा पक्षका सभापति विजयी भएका छन्। बाँकी उदयपुर, ओखलढुङ्गा, ताप्लेजुङ, सोलुखुम्बु र धनकुटाले घिमिरे माथि दबाब राख्ने देखिएको छ।
मंसिर १७, २०७८ शुक्रबार २०:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।