कर्णालीमा देउवा र पौडेलले प्यानल खडा गर्दा निधी पक्षको सभापतिमा मात्रै उम्मेदवारी
सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेश सभापतिमा ललितजंग शाही, भूपेन्द्रजंग शाही र मोतीराज बमले उम्मेदवारी दर्ता गराएका छन्।
ललितजंगले पार्टी सभापति शेरबहादुर देउवा, भूपेन्द्रजंगले वरिष्ठ नेता रामचन्द्र पौडेल र मोतीराज ले उपसभापति विमलेन्द्र निधि पक्षको समर्थनमा उम्मेदवारी दर्ता गरे।
ललितजंग शाही जुम्लाका हुन भने भूपेन्द्रजंग र मोतीराज कालिकोटका हुन्।
यस्तै उपसभापतिमा ललितजंगको प्यानलबाट काली बहादुर सहकारी र सुनत कुमार कार्कीले उम्मेदवारी दिएका छन्। पौडेल पक्षबाट देवेन्द्र बहादुर शाही र तिलक बहादुर भण्डारीले उपसभापतिमा उम्मेदवारी दिएका छन्। निधी पक्षले सभापतिमा मात्रै उम्मेदवारी दिएको छ।
प्रदेश महामन्त्री पदमा देउवा पक्षबाट निरञ्जन केसी र गोविन्द कोइरालाले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै पौडेल पक्षबाट कृष्ण कुमार बिसी र खगेन्द्र बहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन्।
सहमहामन्त्रीमा संस्थापन पक्षबाट उपेन्द्र बहादुर थापा र एकराज डाँगी, इतरसमुहबाट नेत्रलाल पौडेल र जयनन्द उपाध्याय, महिला सहमहामन्त्रीमा राम कुमारी शाही र देविका कुमारी सिंहको उम्मेदवारी परेको छ।
सदस्य प्रत्यक्ष खस आर्य महिला तर्फको ६ पदका लागि १० जनाको उम्मेदवारी परेको छ। सदस्य प्रत्यक्ष खुल्ला खस आर्यको ६ पदका लागि १७ जनाको उम्मेदवारी परेको छ।
सदस्य आदिवासी जनजातिको १ पदका लागि दुई जना र सदस्य आदिवासी जनजाति खुल्लामा चार जना, सदस्य मधेसी एक, सदस्य दलित महिलामा चार जना र सदस्य प्रत्यक्ष दलितका लागि चार जनाको उम्मेदवारी परेको छ।
भोलि शनिबार बिहान ७ बजेसम्म उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली बिहान साढे ७ बजे प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन समितिका सदस्य विवश बस्नेतले जानकारी दिए।
शनिबार दिउँसो १२ देखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका रहेको बस्नेतले बताए। कर्णालीमा प्रदेश महाधिवेशन प्रतिनिधि ४३३ र महाधिवेशन प्रतिनिधि ३१६ गरी ७४९ जना मतदाता छन्।
कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाको नेतृत्वमा संस्थापन समूह विजयी भएको छ। संस्थापनइतर समूहले दुई वटा जिल्लामा मात्र जित हात पारेको छ।
मंसिर १७, २०७८ शुक्रबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।