लुम्बिनीमा शाह र पुन भिडन्त, पोस्टर र झन्डाले मतदानस्थल रङ्गीचङ्गी

बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा भरतकुमार शाह र अमरसिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।
शाहले सभापति शेरबहादुर देउवा र पुनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा खुलेर छुट्टाछुट्टै प्यानलसहित उम्मेदवार मनोनयन गरेका हुन्।
शाहको प्यानलबाट २ जना उपसभापतिमा कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी दिएका छन्।
सह–महामन्त्रीमा रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मी नारायण शाहले उम्मेदवारी दिएका छन्।
पुनको प्यानलबाट उप–सभापतिमा गुल्मीका भुवन प्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठकले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले मनोनयन दर्ता गरेका छन्।
सह–महामन्त्री पदमा प्युठानकी निमा गिरी, अर्घाखाँचीका विष्णु खनाल र दाङका खगराज पाण्डेयले उम्मेदवारी दिएका छन्।
उम्मेदवार मनोनयन सकेर निर्वाचन समितिले शनिबार मतदान गराउने तयारी गरेको छ। उम्मेदवार मनोनयन दर्ता गर्नु अगाडि सहमतिको प्रयास समेत भएको नेताहरूको दाबी छ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ११ जिल्लाको निर्वाचन सम्पन्न हुँदा प्रदेशका १० जिल्लामा रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
सभापतिका उम्मेदवार भरत कुमार शाहले ४० वर्ष देखि पार्टीमा गरेको कामको मूल्याङ्कन मतदाताले गर्ने बताए।
सभापतिका अर्का उम्मेदवार अमर सिंह पुनले द्वन्द्वले पछाडि परेका रोल्पा, रुकुम सहितका जिल्लाहरूमा कांग्रेसको गढ बनाउने गरी आफूले सभापतिमा उम्मेदवारी दिएको बताए।
उम्मेदवारहरू अहिले प्रचार प्रसारमा व्यस्त भएका छन्। प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सहमहामन्त्री गरी ८ जना पदाधिकारी चयन हुनेछ।
यस्तै प्रत्यक्ष सदस्य तर्फ जिल्लागत रूपमा १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जना चयन हुनेछन्। समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातिमा २ महिला सहित ५ जना, मधेसीमा २ महिला सहित ४ जना, दलितमा २ महिला सहित ४ जना, थारु २ महिला सहित ४ जना, मुस्लिम १ महिला सहित २ जना र अल्पसङ्ख्यक वा अपाङ्ग मध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति प्रदेश अधिवेशनले निर्वाचित गर्नेछ।
अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ६४८ प्रतिनिधि भैरहवामा जम्मा भएका छन्।
दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका काँग्रेसका नेता–कार्यकर्ताले मतदान स्थललाई पोस्टर र झन्डाले रङ्गीचङ्गी बनाएका छन्। मतदानस्थल भैरहवाको महेन्द्र सभागृह र त्यसनजिकको पटवा ब्यान्क्यूटमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। आआफ्ना समूहका ब्यानर टाँग्दै हिँडेका छन् कार्यकर्ता।
मंसिर १७, २०७८ शुक्रबार १८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।