राप्रपा महाधिवेशन : अध्यक्ष बाहेक पदमा चुनाव गर्न भोटिङ मेसिन जडान

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय पदाधिकारी निर्वाचित गर्न भोटिङ मेसिन जडान गर्दै छ। राप्रपाको काठमाडौँमा जारी एकता महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित १४९ सदस्यीय केन्द्रीय समिति चयन गर्न भोटिङ मेसिन जडानको काम भइरहेको मेसिन निर्माण गर्ने लक्ष्मण रिमालले जानकारी दिए।
राप्रपाले अध्यक्ष पदको चुनाव भने भोटिङ मेसिनबाट नहुने जानकारी दिएको छ। अध्यक्ष बाहेकका पदमा हुने चुनावमा सय वटा भोटिङ मेसिन जडान गरिने रिमालले बताए। सय मध्ये १० वटा मेसिन भइपरी आउने अवस्थामा राखिने उनले बताए।
राप्रपाको महाधिवेशनमा देशभरबाट ४ हजार ३८० महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। राप्रपाको निर्वाचन समितिले मतदाता नामावली, उम्मेदवारका प्रस्ताव र समर्थकको नाम कम्प्युटरमा चढाउने काम गरिरहेकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन नसकेको जनाएको छ।
राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले प्यानलसहित नै उम्मेदवारी दिएका छन्। थापाको प्रस्तावकमा दीपक बोहरा र समर्थकमा निरञ्जन थापा रहेका छन् भने लिङदेनको प्रस्तावकमा रामानन्द न्यौपाने र समर्थकमा विकास बहादुर महत रहेका निर्वाचन समितिले जनाएको छ।
भोटिङ मेसिन निर्माण गर्ने लक्ष्मण रिमालले निर्वाचन समितिबाट उम्मेदवारको नामावली पाएपछि सफ्टवेयरमा चढाउन ६ देखि १० घण्टासम्म लाग्ने बताए।
‘हामी तयारी अवस्था छौँ,’रिमालले भने,‘प्राविधिक काम भइरहेको छ।’
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रामचन्द्र राय, लीलादेवी श्रेष्ठ, रोशन कार्की, विक्रम पाण्डे, जगत प्रसाद गौचन, दिलविकास राजभण्डारी, दुर्गा श्रेष्ठ, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान गरी ९ जनाको उम्मेदवारी परेको छ।
महामन्त्रीमा डा. धवल शमशेर राणा, कुन्ती कुमारी शाही, भास्कर भद्रा, भुवन पाठक, श्याम तिमल्सिना र रेखा थापाको उम्मेदवारी परेको छ।
थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार छन् । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार बनेकी छन्।
लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार छन् भने महामन्त्रीमा डा धवल शमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बनेका छन्।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि भोलि शनिबार मतदान हुँदैछ।
मंसिर १७, २०७८ शुक्रबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।