न्ह्यू, कालीप्रसाद  र इन्दिराको साख जोगाउलान् आइडलका नयाँ जजहरूले ?

न्ह्यू, कालीप्रसाद  र इन्दिराको साख जोगाउलान् आइडलका नयाँ जजहरूले ?

काठमाडौँ : गायन सम्बन्धी चर्चित रियालिटी शो ‘नेपाल आइडल’का चर्चित तीन जज कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी र न्ह्यू बज्राचार्य अहिले त्यो सो छाडेर 'सारेगामापा लिटिल च्याम्पस'तिर लागेका छन्।

ग्यालेक्सीबाट प्रसारण भइरहेको कार्यक्रम लोकप्रिय पनि भइरहेको छ। उनीहरू ‘नेपाल आइडल’ को तीन सिजनसम्म जज भएका थिए। कार्यक्रम लोकप्रिय हुनुमा उनीहरूको सामाजिक छविले पनि काम गरेकै थियो।

जज कालीप्रसाद चोरीको सङ्गीतका कारण बेलाबखत विवादमा आउँछन्। अहिले पनि उनी नयाँ गीतसँगै विवादमै छन्। तर अन्य २ जज विवादमा आएका छैनन्।

उनीहरू ‘नेपाल आइडल’बाट बाहिरिएपछि निर्माण टिमले नयाँ जजको रूपमा भित्र्याए शम्भुजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तानलाई। यी तीनै जना नेपाली समाजमा भिजेका सङ्गीतकार र गायक हुन्।

रियालिटी सो मा अनुभव र सामाजिक छविले कार्यक्रमलाई साथ दिन्छन् नै जजहरूको गतिविधि र अनुभवले पनि उत्तिकै साथ दिन्छ नै। जजसँग अनुभव भएन भने कार्यक्रम कति खल्लो हुन्छ त्यो त डान्सिङ रियालिटी सो 'डान्स च्याम्पियन'ले देखाइरहेको छ।

रियालिटी शोका लागि लागी 'नेपाल आइडल' का तीनै जज नयाँ हुन्। उनीहरूको कमेन्ट गर्ने शैली, कार्यक्रमका सहभागीसँग गर्ने संवाद अनि जजहरूबिच हुने संवादले पनि कार्यक्रमलाई रोचक वा बोरिङ बनाउँछ नै।

नेपाल आइडलको चोथौँ संस्करणको प्रसारण मिति घोषणा भइसक्यो मङ्सिर २३ गते।  यो एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ। देशभरबाट छानिएका एक सय सहभागीहरू नेपाल आइडल बन्न प्रतिस्पर्धा गर्दै छन्।

सहभागी कस्ता आउलान् त्यसमा चासो हुनु स्वाभाविकै हो। किनकि यही कार्यक्रमले सहभागी भएकै आधारमा रचना रिमाल, प्रताप दास, पवन गिरी अनि निशान भट्टराई जस्ता गायकहरू अहिले नेपाली साङ्गीतिक क्षेत्रमा जमिरहेका छन्।

सहभागीसँगै अर्को चासो पनि छ, के नयाँ जजहरूले पुराना जजले बनाएको छवि मेटेर आफ्नै नयाँ छवि बनाउन सक्लान् ? के उनीहरुले परिपक्व निर्णय गर्न सक्लान् ?

मंसिर १७, २०७८ शुक्रबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।