रेखालाई कुन्तीको काउन्टर : विचरालाई राजनीति नै थाहा छैन, अब चाहिँ सिक्नुहोला
काठमाडौं : राप्रपा नेतृ एवं महामन्त्रीकी उम्मेदवार कुन्ती शाहीले अर्की नेतृ रेखा थापाप्रति कटाक्ष गर्दै राजसंस्था र हिन्दु राष्ट्र संकटमा परेका बेला उहाँ कहाँ हुनुहुन्थ्यो भन्दै प्रश्न गरेकी छिन्।
'हिजो हामी पार्टीभित्र महिलालाई ३३ प्रतिशत सिट चाहिन्छ भनेर लडिरहँदा उहाँ कहाँ हुनुहुन्थ्यो?', शाहीले प्रश्न गरिन्, 'हामी राजसंस्थाका पक्षमा सडकमा हुँदा असहमति जनाउने उहाँ नै होइन?'
रेखा थापालाई राजनीतिका बारेमा केही पनि थाहा नभएको पनि उनले बताइन्। 'राजनीति नै थाहा छैन। विचारा! राजनीति भन्ने कुरा त उहाँले अब थाहा पाउनुहुन्छ।
रेखा थापाको उम्मेदवारीलाई स्वभाविक रुपमा लिएको बताउँदै शाहीले आगामी दिनमा उहाँलाई यो पार्टीमै देख्न पाइने अपेक्षा गरेको समेत बताएकी थिइन्।
'उहाँको अब पार्टीलाई कति समय दिनुहुन्छ त्यो हेर्न बाँकी छ,' उनले भनिन्, 'हिजो-अस्ति कता सुन्दै थिएँ, वैशाखमा फिल्म खेल्न जाँदै हुनुहुन्छ रे। फिल्म होइन, चुनाव आउँदैछ। जनताको माझमा जानूस्। चुल्हो र चौकामा बसेका महिलाको माझमा जानूस्। दूरदराजमा पीडमा बसेका महिलाको माझमा जानूस्।'
कुन्ती शाही र रेखा थापा दुवै राप्रपाको चालु महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन्।
मंसिर १७, २०७८ शुक्रबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।