एमाले महाधिवेशन: चितवनका व्यवसायीलाई 'दशैं'
चितवनः नेकपा एमालेले पार्टीको १०औं महाधिवेशन तामझामका साथ चितवनको सौराहामा सम्पन्न गर्यो। महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई निर्वाचित गर्यो।
मंसिर १० देखि सुरु भएर १४ गते राति सकिएको एमालेको महाधिवेशनले चितवनको 'अर्थतन्त्र' भने जुरुक्कै उठायो।
२ हजार १७५ त एमालेका महाधिवेशन प्रतिनिधि नै थिए। महाधिवेशन उद्घाटन सत्रमा एमालेले पाँच लाख कार्यकर्ता उतार्ने दावी नै गरेको थियो। उल्लेख्य सङ्ख्यामा एमालेले कार्यकर्ता उतार्यो पनि चितवनमा।
एमालेको महाधिवेशनका कारण चितवनका होटेल रेष्टुराँमा उल्लेख्य व्यापार भएको व्यवसायीहरू बताउँछन्। रेवानका अध्यक्ष दीपक खतिवडा अनुमानित १० करोडको व्यापार भएको सुनाउँछन्। रेवानमा सौराहाका ५६ रेस्टुराँ आवद्ध छन्।
यता २४सै घण्टा खुद्रा पसल सञ्चालन गरेका व्यवसायी भने ७० करोड भन्दा धेरै व्यापार भएको हुनुपर्ने सुनाउँछन्।
राप्ती किनारका ४० ओटा रेस्टुराँले मात्र कम्तीमा ३५ देखि ४० लाखको व्यापार गरेको अनुमान छ। पथ प्रदर्शक सुरज प्याकुरेल एकै पटक धेरै मान्छे आउँदा काम बढेको बताउँछन्।
एमालेको महाधिवेशनपछि पर्यटनको माहोल बनेको व्यवसायी बताउँछन्। सबै खालका रेस्टुराँ र होटेल भरिभराउ भएको रेवान सौराहाका अध्यक्ष खतिवडाले जानकारी दिए।
‘घुमौँ सौराहा भन्ने अभियान चलाएका थियौं। महाधिवेशनले निशुल्क प्रचारप्रसार भयो। सकारात्मक सन्देश दिएको छ,’ खतिवडाले भने, ‘कोभिडअघिकै माहोलमा सौराहा फर्किएको छ।’
लकडाउनको दुई वर्ष व्यवसाय टिकाउन धेरै गाह्रो भएको रेस्टुरेन्ट व्यवसायी सुमन तामाङले बताए। एमालेको महाधिवेशनका कारण ठूलो भीड पुगेपछि तामाङ एक-दुई दिन त व्यापार नै गर्न नजान्ने जस्तो भएको सुनाउँछन्।
‘एक्कासी मान्छेहरू आए। सेवा दिनै भ्याइएन। ठूला होटेल बुक गरेकाले पुग्ला, हाम्रोमा सामान्य चिया व्यापार होला भनेको। यत्रा मान्छे आए कि जे पनि नपुग्ने अवस्था आयो,’ तामाङले भने, ‘हाम्रो पूर्वतयारी नै थिएन।’
‘एमालेलाई धन्यवाद भन्नुपर्छ हाम्रो उद्धार गरिदिएको छ,’ तामाङले भने, ‘सामान्य अवस्थामा २० हजारको कारोबार गर्ने व्यवसायीले ४० हजारको कारोबार गरे।’
पहिले भन्दा व्यापार दोब्बर भएको किराना व्यवसायी लक्ष्मी श्रेष्ठले बताइन्। ‘सामानको अभाव भयो,’ उनले भनिन्, ‘यस्तो होला जस्तो लागेको थिएन।’
२६ वर्षदेखि एजेन्सी चलाइरहेका भरत प्याकुरेल कोरोनाकालमा भएको व्यापार घाटा कभर हुने गरी कारोबार भएको बताउँछन्। महाधिवेशनले पर्यटनलाई नयाँ जीवन दिएको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अन्य व्यवसायलाई पनि एमाले महाधिवेशनले राहत दिएको छ।
कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले वनको मध्य भागमा पर्यटकलक्षित कफी तथा किराना पसल चलाएको छ।
पसलका कर्मचारी दीपक ढुङ्गेलले कफी तथा किराना पसलमा शनिबार र बिदाको दिन २० देखि २५ हजार कारोबार हुने गरेको बताए। उनले अघिपछि ५ देखि १० हजारसम्म कारोबार हुने गरेको सुनाए।
मध्यवर्ती क्षेत्रमा बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजे देखि ४ बजेसम्म एउटा सफारीलाई २ घण्टाको समय दिएर प्रशासनले प्रवेश दिने गरेको छ।
सफारी चालक राजेन्द्र न्यौपानेले सफारी यात्रामा चहलपहलले केही सहज भएको बताए। एमालेले बुटवलमा गर्ने भनेको १०औं महाधिवेशन अन्तिम समयमा चितवन सारिएको थियो।
मंसिर १७, २०७८ शुक्रबार ०८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।