मान्छे सुँगुर हो या सुँगुर मान्छे हो !
‘तपाइले मलाई कहिल्यै चिन्न सक्नुहुन्न। किनकि यस कथाका लेखक जोर्ज ओर्वेलले पनि मलाई चिन्दैनन्। उनका लागि म केवल एक कमजोर प्रतिनिधि पात्र हुँ।’
दौडमा जितेको निलो रिबन कानमा सिउरेकी चञ्चले माला घोडी एक्कासि मञ्चमा देखा पर्छिन् र आफूलाई लेखकले वास्ता नगरेको बिलौना गर्छिन्। महिला भएकै कारण आफू चपेटामा परेको महसुस गरेकी उनी आफू बस्दै आएको फार्म अव्यवस्थित भएको भन्दै त्यहाँबाट अन्तै जाने सोचमा छिन्।
दर्शकतिर फर्केर प्रश्न गर्छिन्, ‘लेखकले आफ्नो भएभरको विवेक प्रयोग गरे पनि अन्त्यमा माथिल्लो वर्गको खोक्रो पात्रको रूपमा किन महिलालाई उभ्याए? जसको कुनै दिमाग, धरातल र बिचार नै छैन जसरी।’
माथिल्लो स्थानमा बसेर कुरा सुनिरहेको फार्मको नेतृत्वकर्ता केपोलियन सुँगुरले ठट्यौली रूपमा जवाफ दिन्छ, ‘के तँलाई साँच्चै लाग्छ म तेरो बारेमा यी सबै सोच्छु? वास्तवमा म तेरो बारेमा केही सोच्दिन।’
जवाफमा माला घोडी भन्छिन्, ‘जनावरको संसारमा पनि सत्तामा तपाईँजस्ता पुरुषहरू छन्। पितृ सत्ताले महिलाको बारेमा कहिले पो सोचेको छ र?’
यति भनेर उनी बुर्लुक्क उफ्रिन्छिन् र बन्धन तोडेर आफ्नो बाटो लाग्छिन्।
टेकुमा अवस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटक एनिमल फार्मको एक दृश्य। जुन दृश्यको कथा यसको वास्तविक किताबमा देख्न पाइँदैन। लेखक जोर्ज ओर्वेलले सन् १९४५ मा प्रकाशन गरेको लघु उपन्यास एनिमल फार्म: अ फेरी टेल नामको किताबलाई नाटकमा रूपान्तरण गरिए पनि यो परिमार्जित र परिष्कृत छ।
किताबमा महिला पात्रलाई कमजोर भूमिकामा प्रस्तुत गरिएको थियो। माला घोडी शून्यको अस्तित्वबाट उठेर आफ्ना अधिकारका लागि लड्ने पात्र नेपाली रूपान्तरणमा मात्रै देख्न पाइन्छ।
त्यस्तै मुख्य उपन्यासको कथामा भेडा पुरुष हो। नाटकमा महिला बनाइएको छ। भेडी पनि बारम्बार अधिकारको कुरा उठाउँछिन् तर उनको आवाजलाई दबाइन्छ।
एनिमल फार्म र नेपाली राजनीति
नाटक मञ्चन भइरहँदा दर्शक कुनै एक फार्ममा हुन्छन्। जहाँ सम्पूर्ण शाकाहारी जनावरहरू छन्। सुँगुर, घोडा, गाई, भेडा, चराचुरुङ्गीदेखि मुसासम्म हुन्छन् त्यो फार्ममा।
जँड्याहा फार्मका मालिक उनीहरूलाई पिट्छन्। समयमा खान दिँदैनन्। थुनेर राख्छन् र काम मात्रै लगाउँछन्। समय आएपछि काटेर खान्छन्। जसले गर्दा उनीहरू निकै पिडामा छन्। आफूहरूलाई अन्याय भएको बताउँछन्।
जब पिडाले सीमा नाघ्छ तब एनिमल फार्ममा जन्मन्छ क्रान्ति। सबैभन्दा धेरै चपेटामा परेको जनावर सुँगुरका बुढा मेजर सबै जनावरलाई भेला पारेर क्रान्तिको कथा सुनाउँछ।
सुरुमा जनावरहरूले क्रान्तिलाई हल्का तरिकाले लिन्छन्। तर जब मालिकको पिटाइले क्रान्तिको गीत सिकाउने बुढा मेजर मर्छन् तब सबैले उनले देखाएको बाटोमा हिँड्ने बाचा गर्छन्। फलस्वरूप फार्मबाट मालिकलाई भगाउन सफल हुन्छन्। क्रान्ति सफल हुन्छ।
अब जनावरहरू स्वतन्त्र छन्। उनीहरू खुसी छन्। आफैले छानेर पढेलेखेको बताउने सुँगुरलाई नेतृत्वमा पठाउँछन्। विडम्बना, नयाँ नेतृत्व चयनमा जनावरहरू फेरि चुक्छन्।
सत्तामा पुग्नका लागि केपोलियन सुँगुरले शक्तिको प्रयोग गर्छ। दुई बलिया मांसाहारी कुकुरहरूले एनिमल फार्मको भविष्य सोच्ने नेतृ एरबि सुँगुरलाई लछारपछार पार्दै मञ्चबाट हट्न बाध्य पार्छन्। शक्तिको आडमा सत्ता हत्याएका केपोलियनको नेतृत्व मान्छेको भन्दा अझै खत्तम हुन्छ।
नाटकको अन्त्य हुँदासम्म दर्शक एनिमल फार्ममा हैन नेपालमा हुन्छन्। वरपर हेर्दा जनावरका मुखौटा पहिरिएका नेपाली जनता देखिन्छ। आफैले जिताएर नेतृत्वमा पठाएको नेता सुँगुरको मुखौटो पहिरिएर बसेको देख्छन्। मालती घोडी र भक्त घोडाजस्तै नेपाली जनता पनि दोधारमा छन्, मान्छे सुँगुर हो या सुँगुर मान्छे हो।
नाटकमा सङ्गीतको पाटो निकै सशक्त छ। वीर रस र करुण रस प्रयोग गरिएको सङ्गीतले दर्शकको शरीरमा काँडा उमार्न सफल हुन्छ।
नाटकको सुरुवातमा मान्छेको विरुद्ध क्रान्तिको गीत गाउँछन् जनावरहरू :
ए पौरखी जगतका सबै सबै जनावर
एक एक गरी भुँइमा सर्दै, चर्दै हामी आहार सुन्नु बरै
आएको छ भविष्यको खबर
जीवन हाम्रो बद्लिन छ, भन्नि भा छ ठहर
हाम्लाई पाल्नी मानवको रहर
हुन्छ, हुन्छ अन्त्य अब मानवको कहर
आयुष निरौलाले लेखेको यो शब्द नाटकमा वीर रसमा गाइएको छ। दर्शकदिर्घामा बसेर नाटक हेरिरहेका दर्शक समेत गीत सुनेर क्रान्तिमा होमिउँला जस्तो गर्छन्।
नाकको नत्थी फ्याँकेर, आँखाको पट्टी उघारेर
निरंकुशताको यो पहाडलाई उखेली अब फ्याँक्नु छ
एउटा गीत गाउनै बाँकी छ।
हो विधिको शासन ल्याउनै बाँकी छ।
सौरभ कार्कीले लेखेको 'एउटा गीत गाउनै बाँकी छ' ले नाटकलाई थप उत्कृष्ट बनाएको छ। वीर रसबाट सुरु भएको क्रान्तिमा अब भने केही मत्थर भएर जनावरहरू विधिको शासन माग गरिरहेका छन्। लाइभ म्युजिक र बाजा बजाउनेको टाइमिङले नाटकलाई राम्रोसँग मार्ग निर्देश गर्न कलाकार सफल देखिन्छन्।
नाटकको मज्जा भनेको जति पटक हेर्यो, नौलो देखिनु हो। कलाकारले आज नराम्रो अभिनय गर्न सक्लान्, तर अर्को मञ्चनमा राम्रो गर्न सक्छ। पर्दा पछाडिका काम उत्कृष्ट भइसकेपछि नाटकमा कलाकारको अभिनय राम्रो या नराम्रो भन्नुको धेरै महत्व देखिन्न।
नाटकमा पटकथा, सङ्गीत, प्रकाश संयोजन लगायतका पर्दा पछाडिका काम राम्रो थियो। नाटकका प्रकाश संयोजनको काम चुनौतीपूर्ण काम हो। नाटकमा लाइटको काम कुशलतापूर्वक भएको थियो। केपोलियन सुँगुर खलनायक बन्न लागेको कुरादेखि पात्रका चरित्रसम्मको व्याख्या प्रकाश र त्यसको रङले गरेको थियो।
बुधवारको नाटक मञ्चनमा कलाकारले कुशलतापूर्वक अभिनय गर्न सफल भए। नाटकको बिचमा कलाकारको शक्ति अलि कम भएजस्तो देखिएको थियो। समय लम्ब्याउनका लागि नचाहिने खिचातानी गराइएको भान भए पनि केही समयमै कलाकारले त्यसलाई लयमा ल्याए।
बुढा मेजर सुँगुरको अभिनय गर्ने आयुष निरौला, केपोलियन सुँगुरको अभिनय गर्ने इंग होपो कोइन्च सुनुवार, एर.वि. सुँगुरको अभिनय गर्ने ओजस्वी भट्टराई र चाप्लुसी सुँगुरको अभिनय गर्ने ऋषिकेश बस्नेतको अभिनयले दर्शकको ध्यान तान्न सफल भयो।
त्यस्तै भक्त घोडा प्रकाश बान्तवा राई, मालती घोडी रोशनी स्यांबो, बुद्धि घोडा रिजन परियार, माला घोडी विनीता लामा गुरुङ, भेडा सेविता अधिकारीको अभिनय जीवन्त थियो। गाई कवि राई, काग अभिषेक शर्मा, कुखुरा मारुती सापकोटा, हाँस अभिषेक काफ्ले, मुसा निर्भीक भट्टराइको अभिनयले भने दर्शक हँसाउने काम गरिरहेको थियो। मान्छे र कुकुरको भूमिका निभाएका विशाल केआर क्षेत्री र धिरज थापा मगरको अभिनयमा पनि खोट लगाउने ठाउँ थिएन।
नाटकको अनुवाद, परिकल्पना र निर्देशन गरेकी हुन्, आकाङ्क्षा कार्कीले। उनको काम तारिफयोग्य छ। झन्डै ७० बर्सअघि बनेको लघु उपन्यासलाई वर्तमान नेपाली राजनीतिमा ढालेर मञ्चन गर्नु सजिलो काम पक्कै हैन।
समग्रमा नाटक गज्जबको बनेको छ। लामो समयसम्म बन्द भएको रङ्गमञ्चले भरिभराउ दर्शक पाएको छ। राजनीतिमा रुचि राख्नेका लागि छुटाउन नहुने नाटक हो यो। यो पौष ३ गतेसम्म मञ्चन हुनेछ।
मंसिर १६, २०७८ बिहीबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।