नेपाली कांग्रेस: १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि
काठमाडौंः नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो।
ती जिलामा केन्द्रीय महाधिवेशनपछि मात्र अधिवेशन हुने समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। कांग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। प्रदेश १का १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ।
प्रदेश २मा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ। प्रदेश २मा अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने भएको छ। बागमतीमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक जिल्ला अधिवेशन सम्पन्न भएको छैन।
लुम्बिनीमा नवलपरासीपूर्व, बाँकेमा पनि जिल्ला अधिवेशन भएको छैन। यता सुदूरपश्चिममा कैलाली र अछाममा जिल्ला अधिवेशन रोकिएको छ। जिल्ला अधिवेशन सम्पन्न नभएका १६ जिल्लामा महाधिवेशन प्रतिनिधि भने चयन भइसकेका छन्।
मंसिर १६, २०७८ बिहीबार १३:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।