खोटाङ हलेसी: मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी
खोटाङः हिन्दू, बौद्ध र किँरात तीनै धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिकस्थल हलेसीबाट चार महिनाको अवधिमा १२ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ। गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट १२ लाख ८० हजार भेटी सङ्कलन भएको हो।
महादेव मन्दिरको शिव पार्वती थानमा आठ लाख ८४ हजार ५३०, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट एक लाख ९८ हजार ८५५, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार १७० र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार ५२५ भेटी रकम सङ्कलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए।
सङ्कलन भएका भेटीमध्ये पाँच लाख ३२ हजार १४ रुपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ।
यस्तै भारु तीन हजार ९३५, चाँदी ६१.७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर तीन पनि जम्मा भएको छ। मन्दिरबाट सङ्कलन भएको भेटी विभिन्न मर्मत सम्भारका काममा खर्च भएको राईले बताए।
हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र ईलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले मन्दिर परिसरमा राखिएका दानपेटिकाको साँचो संयुक्त रूपमा खोल्ने गरेका छन्।
मंसिर १६, २०७८ बिहीबार १२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।