राप्रपा नेता सुब्बाको आरोप- ‘थापा समूह निर्वाचन प्रभावित पार्न लागिपरेको छ’

राप्रपा नेता सुब्बाको आरोप- ‘थापा समूह निर्वाचन प्रभावित पार्न लागिपरेको छ’

इटहरीः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाअधिवेशनमा कमल थापा र राजेन्द्र लिङदेनबीच नेतृत्त्वका लागि प्रतिस्पर्धा हुने भएको छ।

राप्रपाले उठाएको हिन्दू राज्य र संवैधानिक राजतन्त्रको मुद्दा विगतको नेतृत्त्वले बिर्सिएकाले नयाँ नेतृत्त्व आवश्यक भएको बहस राप्रपाभित्रै सुनिन थालेको छ। 

देशमा संवैधानिक सर्वोच्चता कायम नभएको, जनताले सोचे जस्तो विकास नभएको भन्दै नेताहरूले विकल्प खोज्नुपर्न बताउँदै आएका छन्। 

लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा लगायतका नेताहरू पुस्तान्तरणको पक्षमा देखिएका छन्। उता थापा भने आफैं नेतृत्त्व हत्याउने दाउमा लागेका छन्। 

यता राप्रपाभित्र बलियो प्रभाव भएका पूर्वमन्त्री रामकुमार सुब्बाले अभियान नै चलाएर नेतृत्त्व परिवर्तनको पक्षमा लाग्न आह्वान गरेका छन्। सुब्बा राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाउने लाइनमा छन्।  

जनता अहिलेको प्रणालीबाट आजित भइसके पनि राप्रपाको नेतृत्त्वको कारण मुलुकमा विकल्पको खोजी हुन नसकेको उनको भनाइ छ। 

१५ वर्ष पार्टीको नेतृत्त्व गरेका कमल थापा पुनः अध्यक्ष हुने कुराले जनता र कार्यकर्तामा निराशा थपेको उनले बताए। अहिलेको राप्रपालाई नयाँ गति प्रदान गर्न राजेन्द्र लिङ्देनको आवश्यकता रहेको उनले प्रष्ट पारे। 

'यसबीचमा जसरी संवैधानिक राजतन्त्र र धर्म सापेक्षताको विषय अगाडि बढाउनुपर्ने थियो, त्यो हुन सकेन। नेतृत्त्वले जनताको घरमा पुगेर अभियान चलाउनुपर्ने थियो। तर शक्तिकै लागि दौडधुपमा देखिए', उनले भने।  

उनले कमल थापाकै कारण राप्रपा, कांग्रेस र एमालेमा कुनै फरक नभएको पनि आरोप लगाए। सुब्बाले भने, 'अब पनि थापा नै अध्यक्ष हुनेभए अरू दलसँग एकता गरे हुन्छ। थापा जनताको लागि भन्दा पनि व्यक्तिगत शक्ति र सत्ताकै लागि अगाडि बढे। राप्रपाको विचार देशव्यापी नहुनुमा नेतृत्त्वको अकर्मण्यता हो।' 

आफू कुनै पनि पदमा उम्मेदवार नहुने प्रष्ट पार्दै उनले लिङ्देनलाई विजयी गराउन लागि पर्ने बताए। थापा समूहले चुनावमा धाँधली गर्नसक्ने प्रष्ट संकेत देखिएको पनि उनको आरोप थियो। 

उनले भने, 'नक्कली मतपत्र बनाउनेदेखि शक्तिको आडमा निर्वाचन प्रभावित पार्न थापा लगेका छन्।' 

सर्वसम्मत अधिवेशन सम्पन्न गराउने प्रयास थापाकै कारण असफल भएको उनको भनाइ छ। पुनः थापा निर्वाचित भए सबैभन्दा ठूलो चिन्ता पार्टी नै रहला कि नरहला भन्ने देखिएको सुब्बाले बताए। 

'थापा जस्ता नेतृत्त्वको कार्यशैलीले वडा स्तरसम्म कार्यकर्ता विचलित भएका छन्। धेरै समर्पित कार्यकर्तामा निराशा छाएको छ', उनले भने, 'लामो समय योगदान गरेका साथीहरू पार्टी छाड्ने लाइनमा लागेको देखियो। अब पनि हामीले निर्णय गर्न सकेनौ भने पछुताउनुको विकल्प छैन।' 

मंसिर १६, २०७८ बिहीबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।