कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन: शाह र पुनमध्ये कसले मार्ला बाजी ?
बुटवलः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछन्। नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सभापतिमा रुपन्देहीका भरत शाह र रोल्पाका अमर पुनबीच प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने भोलि मनोनयन दर्ताको कार्यतालिका तय भएको छ। शनिबार निर्वाचन हुनेछ।
जिल्ला-जिल्लामा संस्थापन र इतर पक्षबीच सभापति निर्वाचित भइरहँदा प्रदेशमा पनि दुवै पक्षका नेताहरू प्यानल बनाएर निर्वाचनमा जाने भएका छन्।
लुम्बिनीका सभापति आकांक्षी शाह देउवा पक्षका हुन्। पुन चाहिँ पौडेल पक्षका हुन्।
अहिलेसम्म प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लामा पौडेल पक्षका सभापति सहितका उम्मेदवार विजयी भएका छन् भने रुपन्देही र बर्दियामा मात्र देउवा पक्षका उम्मेदवार विजयी छन्।
बाँके जिल्लामा अझै जिल्ला अधिवेशन भएको छैन। जिल्लाको माहोल हेर्दा पौडेल पक्ष हावी छ। त्यसैले पनि प्रदेश सभापतिमा शाह र पुनबीचको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ।
रुपन्देही क्षेत्र नं. ५का प्रतिनिधि सभा सदस्य तथा संसद्को लेखा समितिका सभापति समेत रहेका शाह जिल्लामा लोकप्रिय छन्। यद्यपी संस्थापन पक्ष भए पनि गृहमन्त्री बालकृष्ण खाँणसँग उनको जिल्लामा छुट्टै गुट भएको चर्चा समेत गरिन्छ।
०५६, ०७० र ०७४ सालको निर्वाचनमा विजयी शाह राज्यमन्त्री समेत भइसकेका छन्। ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने उनी एमालेका रामनाथ ढकालसँग पराजित भएका थिए।
शाहले ४० वर्षदेखि पार्टीको जिम्मेवार पदमा रहेर काम गरेकाले प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताए।
‘पार्टीको जिम्मेवारीबाट पछि नहटी काम गरेँ। त्यसैको मूल्याकंन प्रतिनिधि साथीहरूले प्रदेश सभापतिको निर्वाचनमा गर्नुहुनेछ’, उनले भने।
यता पुनले द्वन्द्वले पछाडि परेका जिल्लाहरू सहित रोल्पामा कांग्रेसलाई बलियो संगठनको रूपमा उभ्याउन आफ्नो उम्मेदवारी रहेको उनले बताए।
कांग्रेस रोल्पाको निवर्तमान जिल्ला सभापति समेत रहेका उनले आफू सभापतिमा निर्वाचित भए आउँदो चुनावमा पार्टीलाई एक नम्बर बनाउने गरी लाग्ने बताए।
यता प्रदेश महामन्त्री पदमा भने गुल्मी कांग्रेसका निवर्तमान सभापति भुवन श्रेष्ठ, अर्घाखाँचीका निवर्तमान सभापति विष्णु मुस्कान लगायतको चर्चा छ।
संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्दैछ। कांग्रेसमा १ सय ६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३ सय ३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रदेशको नेतृत्त्व चयनका लागि मतदान गर्न पाउने व्यवस्था छ।
कांग्रेसको १४औं महाधिवेशन आउँदो मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ।
मंसिर १६, २०७८ बिहीबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।