बागलुङ, धनुषा र काठमाडौंमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जना घाइते
काठमाडौंः बागलुङ, धनुषा र काठमाडौंमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जना घाइते भएका छन्। हिजो साँझ काठमाडौंको महाराजगञ्जमा बसले ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते भएका थिए।
घाइते हुनेमा नुवाकोटको तादी गाउँपालिका- ३ नर्जा घर भएका ६६ वर्षीय हरिप्रसाद अधिकारी रहेका छन्। चिरायु अस्पताल बसुन्धरामा उनको उपचार भइरहेको छ। बा५ख ५८१० नम्बरको बसले हिजो बेलुकी साढे ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको हो। बस चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ।
यस्तै धनुषाको शहीदनगर नगरपालिका-३ झण्डाचोकमा हिजो साँझ दुई ओटा मोटरसाइकल एकापसमा ठोकिँदा दुवै चालक गम्भीर घाइते भएका छन्। ज८प ९३३२ नम्बरको मोटरसाइकल र स४प ८४६४ नम्बरको मोटरसाइकल बेलुकी सवा ७ बजे आपसमा ठोकिएका हुन्।
२७ वर्षीय रुपेश यादव र २५ वर्षीय सुजित गुरमैता यादव घाइते भएका छन्। घाइते दुवैको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुवाले जनाएको छ।
यता बाग्लुङको ढोरपाटन नगरपालिका-२ तुरतुरेमा आज बिहानै जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जीप चालक तमानखोला गाउँपालिका-५ का ३७ वर्षीय दलबहादुर विक र जीपमा सवार ढोरपाटन नगरपालिका-१ वुर्तिवाङका ३१ वर्षीय लालबहादुर विक घाइते भएका हुन्।
बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेहरूको उपचार भइरहेको छ। भिमगिठ्ठेबाट भैंसी लिएर बुर्तिवाङ जाँदै गरेको ग२च ६६४२ नम्बरको जीप आज बिहान ३ बजे सडकबाट करिब ६० मीटर तल खसेको थियो।
मंसिर १६, २०७८ बिहीबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।