कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, राप्रपाको पनि साथ
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँ भनी मंगलबार प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए।
बुधबार बसेको प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन्। एमालेको महाधिवेशनका कारण जिल्ला बाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन।
प्रदेश सभामा सभामुखसहित ३५ जना सांसद छन्। तर बुधबारको बैठकमा सहभागी २२ जनामध्ये पक्षमा २२ जनाले नै मतदान गरेका छन्। मुख्यमन्त्री शाहीलाई कांग्रेसका पाँच, माओवादीका १२, समाजवादीका तीन र राप्रपाका एक जना सांसदले मत दिएका हुन्।
गएको कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका थिए। तत्कालीन प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शाहीलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्री शाही कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित १३, माओवादीका १२, नेपाली कांग्रेसका ६, समाजवादीका तीन र राप्रपाका एक जना सांसद छन्।
मंगलबार मात्रै कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा माओवादी केन्द्रका सांसद बिन्दमान विष्ट नियुक्त भएका छन्।
यसअघि माओवादीबाट प्रतिनिधित्व गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सरकारमा विष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सिफारिस गरे पनि अन्तिममा सपथ खानुअघि पार्टीभित्रको आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने भन्दै सिफारिस फिर्ता लिएका थिए।
कात्तिक १६ गते नियुक्त भएका मुख्यमन्त्री शाहीले २८ दिनपछि थप एक जना मन्त्री थपेका थिए।
उनले कात्तिक ३० गते भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नेकपा समाजवादीका सांसद चन्द्रबहादुर शाहीलाई नियुक्त गरेका थिए।
मुख्यमन्त्री शाहीले मंगलबार नै प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए।
बैठकमा एमालेका सांसद उपस्थित नभएपछि शाहीको विश्वासको मत लिने प्रस्तावमा बुधबार मात्रै मत विभाजन भएको हो।
मंसिर १५, २०७८ बुधबार १६:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।