राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गरौं : कमल थापा

राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गरौं : कमल थापा

काठमाडौं : राप्रका अध्यक्ष कमल थापाले यो अन्तिम एकता महाधिवेशन भएको बताएका छन्। पार्टीको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै थापाले राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गरिसकेको दावी समेत गरे।

'यो एकता महाधिवेशनलाई भाषणमा मात्र होइन। मन बचन र कर्मले स्थापित गर्नुपर्छ,' उनले भने, 'महाधिवेशन सकेर जब हामी गाउँ-गाउँ पुग्छौं, गाउँले दाजुभाइ-दिदीबहिनीलाई अब कहिल्यै पार्टी फुट्न नदिने संकल्प गरेर आएका छौं भनेर सुनाउनुपर्नेछ।'

राप्रपा अध्यक्ष थापाले सर्वसम्मत नेतृत्व चुन्ने प्रयासका लागि पनि सबैलाई आह्वान गरेका छन्। उनले भने, 'अध्यक्ष मात्रै होइन, सबै नेतृत्वको चयनमा सर्वसम्मतिको प्रयास गर्नुपर्छ।'

सर्बसम्मतिले गर्न नसकेमा प्रजातान्त्रिक विधिबाट नेतृत्व चयन गरेर पार्टीलाई सबल बनाउने प्रतिवद्धता गर्नुपर्ने उनले बताए। थापाले भने, 'कुनै पनि बहानामा विभाजनको रेखा कोर्न हुँदैन।'

विदेशीको इशारामा राजसंस्था र हिन्दु राष्ट्रलाई समाप्त पारिएको बताउँदै गणतन्त्र ल्याएर मुलुकबासी पछुताइरहेको दावी समेत गरे।

राप्रपा परिवर्तन विरोधी नभएको भन्दै थापाले राप्रपाले सबै नेपाली अटाउने, नेपाल सुहाउँदो व्यवस्था चाहेको उल्लेख गरे।

मंसिर १५, २०७८ बुधबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।