फोकटको त अलकत्रा पनि मिठो

फोकटको त अलकत्रा पनि मिठो

काठमाडौं : यतिबेला सामाजिक सञ्जाल युट्युबको एक नम्बर ट्रेण्डिङमा छ, नेपाली फिल्म 'हजार जुनीसम्म'।

सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट प्रसारणमा आएको यो फिल्म दुई दिनमै २० लाख दर्शकले हेरिसकेका छन्। युट्युबमा फिल्म राखेको केही घण्टामैं यो फिल्म ट्रेण्डिङको एक नम्बरमा पुगेको हो।

फिल्मभन्दा यसमा आएका प्रतिक्रियाहरु रोचक छन्। किनभने फिल्मको प्रतिक्रियामा आएका प्रशंसाका शब्द अहिलेसम्म बनेका कमै नेपाली फिल्मले पाएका छन्। फिल्ममा कलाकारको अभिनयदेखि कथावस्तु सबैको तारिफ भएको छ।

फिल्म 'हजार जुनीसम्म' हलमा लागिसकेको फिल्म हो। दुई वर्षअघि धुमधामको चहलपहलसँगै फिल्म हलमा लागेको थियो। तर व्यापारिक रुपमा फिल्म फ्लप भयो। फिल्मका समीक्षकहरुले दर्शकको मन छुन नसक्ने हजार जुनीसम्म, स्कृप्ट नै कमजोर, अभिनय नै कमजोर जस्ता प्रतिक्रिया दिएका थिए। 

फिल्ममा हराएको मायालु खोज्ने कथा छ। यो कथा अहिलेसम्म बनेका फिल्ममा कुनै नौलो विषय हैन। सबैको मनमा बस्न सफल गीत ‘हजार जुनीसम्म खोजी बसें तिमीलाई, माया मेरो युगयुगसम्म तिमीलाई दिएँ तिमीलाई’ गीतको थिममा बनेको छ। पुरानै गायक-गायिकाको स्वरमा लिपसिङ गरेकाले फिल्मको ओएसटी भिडियो टिकटकजस्ता लाग्छन्। 

फिल्म हलमा चल्न नसकेपछि दर्शकले पनि फिल्म मन नपराएकै बुझियो। तर युट्युबमा प्रदर्शन हुनेबित्तिकै फिल्मको तारिफ सुनिसाध्य छैन।

अहिलेसम्मकै मन छुने फिल्म, अन्त्यमा रुवायो, आर्यन सिग्देल र स्वस्तिमा खड्काको अभिनय मन पर्यो, लामो समयको अन्तरालमा राम्रो फिल्म हेर्न पाइयो जस्ता प्रतिक्रियाको बाढी आइरहेको छ युट्युवमा।

यस्ता प्रतिक्रिया पढिरहँदा पुरानो नेपाली उखानको याद आयो, 'नेपालीले फोकटमा पाए अलकत्रा पनि खान्छन्'। यहाँ त अलकत्रा खाने मात्रै हैन, ८४ ब्यञ्जन नै आफू अगाडि पस्किएजसरी प्रशंसा पनि देख्न पाइयो। गज्जब छ नेपाली दर्शकको पारा!

मंसिर १५, २०७८ बुधबार १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।