कांग्रेस अधिवेशन : लुम्बिनी प्रदेशमा साह र पुन भिड्दै

कांग्रेस अधिवेशन : लुम्बिनी प्रदेशमा साह र पुन भिड्दै

बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशनमा रुपन्देहीका भरतकुमार साह र रोल्पाका अमर पुनबीच प्रतिस्पर्धा हुने भएको छ। १८ मंसिरमा हुने प्रदेश अधिवेशनको १७ मंसिरमा मनोनयन हुँदैछ।

जिल्ला–जिल्लामा संस्थापन र इतर पक्षबीच सभापति निर्वाचित भइरहँदा प्रदेशमा पनि दुवै पक्षका नेताहरु प्यानल बनाएर निर्वाचनमा जाने निश्चित जस्तै छ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका साह र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनबीच प्रदेश सभापतिका लागि प्रतिस्पर्धा हुने भएको हो।

अहिलेसम्म प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लामा पौडेल पक्षका सभापति सहितका उम्मेदवार विजयी भएका छन् भने रुपन्देही र बर्दियामा मात्र देउवा पक्षका उम्मेदवार विजयी छन्। बाँके जिल्लामा अझै अधिवेशन भएको छैन्।

रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य तथा संसदको लेखा समितिका सभापति समेत रहेका साह जिल्लामा लोकप्रिय मानिन्छन्। २०५६, २०७० र २०७४ सालको निर्वाचनमा रुपन्देहीबाट प्रतिनिधि सभामा निर्वाचित शाह राज्यमन्त्री समेत भइसकेका छन्।

लामो समय पार्टीको विभिन्न कमिटीमा रहेर काम गरेका साह यसअघि गरेका कामकै कारण आफू प्रदेश सभापति बन्न योग्य भएको बताउँछन्। ‘पार्टीको जिम्मेवारीबाट पछि नहटी काम गरें। त्यसैको मूल्यांकन प्रतिनिधि साथीहरुले गर्नुहुनेछ,’ उनले भने।

अमर पुनले द्वन्द्वले पछाडि परेका जिल्लाहरु सहित रोल्पामा कांग्रेसलाई बलियो संगठनको रुपमा उभ्याउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

कांग्रेस रोल्पाको निवर्तमान जिल्ला सभापति समेत रहेका उनले आफू सभापतीमा निर्वाचित भएपछि आउँदो चुनावमा पार्टीलाई एक नम्बर बनाउने गरी लाग्ने बताए।

मंसिर १५, २०७८ बुधबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।