सर्वोच्चमा गोला प्रक्रियाबाट तोकियो पेसी, खोसियो प्रधानन्यायाधीशको अधिकार
काठमाडौँ : सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट मुद्दाको पेसी तोकिएको छ। बिहान साढे १० बजे उपस्थित भएका न्यायाधीशहरुले गोला झिकेर मुद्दाको पेसी तोकिएको हो। गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्थासहितको संशोधित नियमावली राजपत्रमा प्रकाशित भएको थियो।
संशोधित नियमावली अनुसार बुधबार २७१ वटा मुद्दाको पेसी गोला प्रथाबाट तोकिएको सर्वोच्च अदालतले जनाएको छ। गोला प्रक्रियाबाट दुई वटा एकल र ९ वटा संयुक्त इजलास गठन भएको छ।
गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिएसँगै सबै न्यायाधीशहरू इजलासमा बसेका सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले बताए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका न्यायाधीशहरू बुधबारदेखि इजलासमा बसेका हुन्। सर्वोच्चमा गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्न सुरु भएसँगै प्रधानन्यायाधीशको तजबिजी अधिकार खोसिएको छ।
.jpg)
यसअघि प्रधानन्यायाधीशले मुद्दाको पेसी तोकेर इजलास गठन गर्दै आएका थिए। गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्ने पहिलो दिन प्रधानन्यायाधीश राणा उपस्थित हुन सकेनन्। कोरोना सङ्क्रमण र निमोनिया भएकाले प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका छन्।
नेपाल बार एसोसिएसनले गोल प्रक्रियाबाट मुद्दाको पेसी तोक्ने व्यवस्थाको स्वागत गरे पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन जारी राखेको छ। बारले बुधबार पनि सर्वोच्च अदालत परिसरमा एक घण्टा धर्ना दिएको छ।
बारले गोला प्रक्रियामा प्रधानन्यायाधीश राणालाई सहभागी नगराउन र प्रधानन्यायाधीशको इजलासमा बहस पैरवी नगर्न कानुन व्यवसायीलाई अनुरोध गरेको छ।
मंसिर १५, २०७८ बुधबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।