मोरङमा कोइराला पक्ष हराउने देउवाको प्रयास असफल, सभापतिमा लिम्बु विजयी 

मोरङमा कोइराला पक्ष हराउने देउवाको प्रयास असफल, सभापतिमा लिम्बु विजयी 

इटहरी : नेपाली कांग्रेस मोरङको सभापतिमा डाक्टर शेखर कोइराला पक्षका डिग बहादुर लिम्बु विजयी भएका छन्।

१२ गते सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि १४ गते भएको निर्वाचनमा लिम्बु विजयी भएका हुन्। 

नेपाली कांग्रेसको विधानको धारा १२ को उपधारा ५ (क) २ अनुसार सभापति विजयी हुन ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ। ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके खण्ड (क) ३ बमोजिम पुनः मतदान गर्नुपर्ने व्यवस्था छ।  

सोही बमोजिम पहिलो र दोस्रो भएका उम्मेदवार बीच पुनः निर्वाचन प्रतिस्पर्धा भएको थियो। कोइराला पक्षका लिम्बु र संस्थापन प्यानलका दिलीप गच्छदारबीच भएको प्रतिस्पर्धामा लिम्बु विजयी भएका हुन्। लिम्बुले १ हजार ९०६ मत ल्याउँदा गच्छदारले १ हजार ४२२ मत ल्याए। 

यसअघिका तेस्रा उम्मेदवार कृष्ण प्रसाद सिटौला पक्षका यदुकुमार विष्टले गच्छदारलाई समर्थन गर्ने बताए पनि त्यसको कुनै प्रभाव देखिएन। 

लिम्बुको अघिल्लो कार्यकालमा कांग्रेस धेरै कमजोर भएको भन्दै उनले विधि र विधान अनुसार पार्टी सञ्चालन गर्न आग्रह गर्दै गच्छदारलाई शुभकामना दिएका थिए। २५ वर्षदेखि कोइराला प्यानलबाटै राजनीति गरेका उनले निर्णायक समयमा देउवा पक्षलाई समर्थन गरेका थिए। 

पूर्व महामन्त्री तथा प्रदेश १ कांग्रेसको निर्वाचन संयोजक रहेका सिटौला सोमबार बिहानैदेखि विराटनगर पुगेर कोइराला प्यानल विरुद्ध लागेका थिए। केन्द्रीय सभापतिको दाबी गरिरहेका कोइरालाकै गृह जिल्लामा सिटौलाको उपस्थिति अर्थपूर्ण देखिएको थियो। 

इतर प्यानलबाट सर्वसम्मत उम्मेदवार हुने दाबी गर्दै आएका कोइरालाको लागि सिटौलाको उपस्थिति चुनौतीपूर्ण मानिए पनि परिणाममा देखिएन। १३ औँ महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका सिटौलाले मोरङमा पनि त्यसैलाई निरन्तरता दिएका छन्।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि देउवा टिमका उम्मेदवार गच्छदारलाई समर्थन गरेका थिए। लामो समय कोइराला टिमबाट राजनीति गरेका उनले अन्ततः देउवा टिमका उम्मेदवारलाई सघाए। 

सुरुवात देखिनै आलोचक देखिएका कोइरालालाई गृह जिल्लामै कमजोर बनाउने देउवा रणनीति असफल भएको छ। 

मंसिर १५, २०७८ बुधबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।