सर्वोच्चमा आजदेखि गोला तानेर मुद्दाको पेसी तोकिने, प्रधानन्यायाधीश उपस्थित हुन नसक्ने 

सर्वोच्चमा आजदेखि गोला तानेर मुद्दाको पेसी तोकिने, प्रधानन्यायाधीश उपस्थित हुन नसक्ने 

काठमाडौं : सर्वोच्च अदालतमा आजदेखि मुद्दाको पेसी गोला प्रक्रियाबाट तोकिने भएको छ। गोला प्रक्रिया लागु गर्न सर्वोच्च अदालतको नियमावली संशोधन भएर राजपत्रमा प्रकाशित भइसकेको छ। 

मुद्दाको पेसी तोक्न गोला प्रणाली लागू भएसँगै प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ। सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रणालीबाट मुद्दाको पेसी तोक्ने व्यवस्था हुने भएसँगै प्रधानन्यायाधीशको स्वविवेकिय अधिकार कटौती हुने भएको हो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायाधीशहरू र कानुन व्यवसायीले आन्दोलन गरेका थिए। गोला प्रक्रिया लागू हुनेभएपछि न्यायाधीशहरू नियमित इजलासमा बस्न थालेका छन्। 

नेपाल बार एसोसिएसनले गोला प्रणालीबाट मुद्दाको पेसी तोक्ने व्यवस्थाको स्वागत गरे पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएको छ। बार एसोसिएसनले बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्ना दिने जानकारी दिएको छ। 

सर्वोच्चका न्यायाधीशहरूले गोला प्रथाबाट मुद्दाको पेसी सूची तोकेपछि नियमित प्रक्रियाका सबै मुद्दा सुनुवाइ गर्ने गर्ने भएको छ।

प्रधानन्यायाधीश राणा भने कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएकाले आजको गोला तान्ने प्रक्रियामा उपस्थित नहुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

‘प्रधानन्यायाधीश उपस्थित नभए पनि उपस्थित न्यायाधीशहरूले गोला तान्ने काम गर्नुहुनेछ,’दाहालले उकेरासँग भने,‘अनुपस्थित भए गोला तान्न पाइँदैन।’ बुधबारदेखि अदालतमा उपस्थित सबै न्यायाधीशले गोला तानेर नियमित प्रक्रिया झैँ मुद्दाको सुनुवाइ गर्नेछन्। 

मंसिर १५, २०७८ बुधबार ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।