एनआरएनएको चुनाव : अध्यक्षमा मनोनयन गर्न १० लाख रुपैयाँ
काठमाडौँ : गैर आवासीय नेपाली सङ्घ एनआरएनएले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
प्रतिनिधि विवादका कारण परराष्ट्र मन्त्रालयले तत्काल अधिवेशन नगर्न निर्देशन दिए पनि एनआरएनएको निर्वाचन समितिले डिसेम्बर २८ र २९ गते सङ्घको वार्षिक साधारण सभाबाट नेतृत्व चयन गर्ने तालिका सार्वजनिक गरेको हो।
समितिले डिसेम्बर ६ मा मतदाता नामावली प्रकाशन गर्ने, ७ मा नामावली माथि दाबी विरोध गर्ने र डिसेम्बर १० मा मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ।
डिसेम्बर ११ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने र डिसेम्बर २६ र २७ मा अनलाइनमार्फत मतदान गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।
.jpg)
समितिले गैर आवासीय नेपाली सङ्घको अध्यक्षमा मनोनयन पत्र दर्ता गर्न १० लाख रुपैयाँ तोकेको छ। यस्तै उपाध्यक्षमा ७ लाख, महासचिवमा ६ लाख, सचिव र कोषाध्यक्षमा मनोनयन दर्ता गर्न ५/५ लाख रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
सहकोषाध्यक्ष पदमा ४ लाख, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजक पदमा उम्मेदवार मनोनयन गर्न ३ लाख ५० हजार शुल्क तोकिएको छ।
यस्तै क्षेत्रीय उप संयोजक, महिला संयोजक र युवा संयोजक पदमा उम्मेदवार मनोनयन गर्न २ लाख ५० हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
क्षेत्रीय महिला उपसंयोजक र युवा संयोजकले २ लाख रुपैयाँ शुल्क बुझाउनु पर्ने एनआरएनएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले निकालेको सूचनामा लेखिएको छ।
मंसिर १४, २०७८ मंगलबार २२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।