युवा पुस्तालाई देउवाको सुझाव : नेतृत्व गर्न हतार नगर्नुस्, पालो आउँछ 

युवा पुस्तालाई देउवाको सुझाव : नेतृत्व गर्न हतार नगर्नुस्, पालो आउँछ 

काठमाडौँ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा नेतृत्व लिने हतार नगर्न युवा पुस्तालाई आग्रह गरेका छन्।

रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक ‘राजनेता सुवर्ण शमशेर’को लोकार्पण गर्दै देउवाले युवा पुस्तालाई नेतृत्वमा पुग्ने हतार नगर्न सुझाव दिएका हुन्। 

‘तपाईँहरू नआत्तिनुस्, हतार नगर्नुस्,’देउवाले भने,‘तपाईँहरूको पालो आउँछ, चिन्ता नगर्नुस्।’ उनले पार्टीलाई अन्तर्घातविहीन बनाउने गरी काम गर्न निर्देशन पनि दिए। 

देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शमशेर राणाको ठुलो त्याग, तपस्या र योगदान रहेको बताए। ‘असल व्यक्तित्व, कम बोल्ने तर सबैका कुरा सुन्ने सुवर्णजीलाई मैले पहिलो पटक कलकत्तामा भेटेको हुँ, नेपाल विद्यार्थी सङ्घ स्थापनामा पनि सहयोग गर्नुभयो,’देउवाले भने,‘प्रजातन्त्रका लागि आफ्नो सबै सम्पत्ति खर्चने उहाँ प्रजातान्त्रिक समाजवादी नेता हुनुहुन्थ्यो।’ 

पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेसजनले सुवर्ण शमशेरजस्तै लिन होइन दिन राजनीतिमा लागेको हो भन्ने सन्देश व्यवहारबाटै दिन सक्नुपर्ने उल्लेख गरे। 

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको ढर्राबाट नभई कांग्रेसलाई जनचाहनाअनुरूप रूपान्तरण गर्दै अघि बढाउन सभापतिलगायतका पुराना पुस्ताबाट सहयोग हुन आवश्यक रहेको बताए। 

केन्द्रीय सदस्य रमेश लेखकले अध्ययन, ज्ञान, सूचना र सीप मिलाएर ऐतिहासिक, बहुआयामिक र प्रेरणापुञ्ज सुवर्णजीका बारेमा लेखिएको पुस्तक पठनीय मात्र नभई सङ्ग्रहयोग्य रहेको बताए। 

मंसिर १४, २०७८ मंगलबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।