कांग्रेसमा विधि विधान नमान्ने संस्कार हाबी : डा. कोइराला
इटहरी : नेपाली कांंग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीमा विधि विधान नमान्ने र समयमा काम नगर्ने संस्कार हाबी भएको बताएका छन्।
सुनसरीको क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा कोइरालाले कहिल्यै नभएको कांग्रेसको अधिवेशन यस पटक भएको भन्दै व्यङ्ग्य पनि गरे।
‘चार वर्षमा हुने पार्टीको महाधिवेशन ६ वर्षमा गर्ने,’कोइरालाले भने,‘त्यो पनि सभापतिको गृह जिल्लामा प्रहरी लगाएर प्रतिनिधिलाई छेकेर अधिवेशन गर्ने अवस्था आउनु दुखद हो।’
उनले प्रधानमन्त्री र गृहमन्त्रीकै निर्देशनमा प्युठानमा मतगणना हुँदाहुँदै प्रहरी लगाएर घाइते बनाउने काम भएको आरोप लगाए। उनले कतै मतदान गर्नै नदिने काम भएको समेत आरोप लगाए।
आफू सभापतिको उम्मेदवार भएको दाबी गर्दै उनले युवाहरूको टिम सहित निर्वाचनमा होमिने उल्लेख गरे। आफू सभापति भए यस्तो भद्रगोल अवस्थाको अन्त्य गर्ने र कार्यकर्तालाई अन्याय हुन नदिने प्रतिबद्धता जनाए।
उनले आगामी निर्वाचनमा कम्युनिस्टलाई पराजित गर्न कांग्रेस एक ढिक्का हुनुपर्ने बताए। कांग्रेसको चुनौती कम्युनिस्ट मात्र भएकाले त्यसको विरुद्धमा एकजुट भएर लाग्नुपर्ने कोइरालाको भनाई छ। निर्वाचन आन्तरिक प्रतिस्पर्धा भएकाले पराजितले हिम्मत हार्ने र विजयीले दम्भ देखाउने काम नगर्न उनले आग्रह गरे।
मंसिर १४, २०७८ मंगलबार २०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।