एमालेको कुनै पनि कमिटीमा नरहने भीम रावलको घोषणा 

एमालेको कुनै पनि कमिटीमा नरहने भीम रावलको घोषणा 

चितवन : नेकपा एमालेको अध्यक्षमा पराजित तर केन्द्रीय सदस्यमा निर्वाचित भीम रावलले शपथ लिएनन्। अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका थिए। 

रावल केन्द्रीय सदस्यमा ९०४ मत ल्याएर विजयी भएका एमालेको केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको थियो। पदाधिकारीमा उम्मेदवारी दिनेहरूको नाम केन्द्रीय सदस्यमा पनि स्वतः रहने आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिएका थिए। 

तर, अध्यक्षमा पराजित रावलले केन्द्रीय सदस्यमा नबस्ने भन्दै नाम नराख्न आयोगलाई आग्रह गरेका थिए। आयोगले रावल सदस्यमा निर्वाचित भएको घोषणा गरे पनि उनले सदस्य पदको शपथ भने लिएनन्। उनी बन्द सत्र समापनको अन्त्य सम्म नै बसे। बोल्ने अवसर भने पाएनन्। 

बन्द सत्र समापनपछि पत्रकारसँग कुरा गर्दै रावलले अबदेखि आफू पार्टीका कुनै पनि कमिटीमा नरहेको घोषणा गरे। उनले भने,‘मेरो उम्मेदवारी अध्यक्ष पदको लागि मात्रै थियो।’ 

पार्टीमा अब तपाईँको भूमिका के रहन्छ? भन्ने जिज्ञासामा उनले भने, ‘भर्खर त महाधिवेशन सकियो। यसबारे केही दिनपछि भन्छु।’

उपाध्यक्षमा पराजित घनश्याम भुसाल र सचिव भीम आचार्य पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशन स्थल सौराहामा बसेको छ। 

मंसिर १४, २०७८ मंगलबार २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।