कर्णाली प्रदेश सरकारमा थपिए एक मन्त्री 

कर्णाली प्रदेश सरकारमा थपिए एक मन्त्री 

सुर्खेत : कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा माओवादी केन्द्रका सांसद बिन्दुमान विष्ट नियुक्त भएका छन्। नवनियुक्त मन्त्री विष्टलाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाए। 

यसअघि माओवादीबाट प्रतिनिधित्व गरेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो सरकारमा विष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सिफारिस गरे पनि अन्तिममा  शपथ खानुअघि पार्टीभित्रको आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने  भन्दै सिफारिस फिर्ता लिएका थिए। 

कात्तिक १६ गते नियुक्त भएका मुख्यमन्त्री जीवन बहादुर शाहीले २८ दिनपछि थप एक जना मन्त्री थपेका छन्। उनले कात्तिक ३० गते भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नेकपा समाजवादीका सांसद चन्द्र बहादुर शाहीलाई नियुक्त गरेका थिए।

दुई जना मन्त्रीको नियुक्तिसँगै कर्णाली प्रदेश मन्त्रिपरिषद् तीन सदस्यीय भएको छ। मुख्यमन्त्री शाहीले मंगलबार नै प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए।

बैठकमा एमालेका सांसद उपस्थित नभएपछि शाहीको विश्वासको मत लिने प्रस्तावमा बुधबार मात्रै मत विभाजन गर्ने तयारी प्रदेश सभाले गरेको छ। 

मंसिर १४, २०७८ मंगलबार २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।