आफू बोल्दा शान्त रहन ओलीले दिए निर्देशन 

आफू बोल्दा शान्त रहन ओलीले दिए निर्देशन 

चितवन : नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले आफू बोल्दा शान्त रहन आग्रह गरेका छन्। धैर्य गरेर बसिदिन र कोही पनि नबोल्न ओलीले निर्देशन दिए।

दसौँ महाधिवेशनको बन्द सत्र समापन कार्यक्रममा ओलीले शुभकामना आदान प्रदान गरिरहेका नेता कार्यकर्तालाई शान्त रहन र कोही पनि नबोल्न निर्देशन दिएका हुन्। 

उनले निर्वाचित पदाधिकारीहरूलाई बधाई दिए। ओलीले पार्टी मार्फत देशलाई नेतृत्व गर्ने सफलता मिलोस् भनेर शुभकामना दिए। उनले उत्सुकता, जागरूकता साथ चनाखो ढङ्गले अध्ययन गर्न, निष्कर्ष निकाल्न र अध्ययनको नयाँ शैली अपनाउन आग्रह गरे।

उनले अहङ्कारी, दम्भ नभएर विनम्रताका साथ हरेक व्यक्तिप्रति सम्मानजनक रूपमा जानु पर्ने बताए। ओली नेकपा एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। 

दसौँ महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भए। नेकपा एमालेको दुई कार्यकाल अध्यक्षमा निर्वाचित हुने ओली तेस्रो व्यक्ति बनेका छन्। 

एमालेको पुन अध्यक्षमा निर्वाचित ओलीले पद तथा गोपनीयताको शपथ लिएपछि सम्बोधन गर्दै संवृद्ध नेपाल र सुखी नेपालीका लागि काम गर्ने बताए। उनले आन्तरिक र बाह्य हमलाबाट पार्टीलाई जोगाएर गतिशील बनाउने जिम्मेवारी रहेको बताए। 

उनले केन्द्रीय कमिटीले स्थायी र पोलिटब्युरो बनाउने जानकारी दिए। अब तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने ओलीले बताए। विभिन्न पार्टीबाट कार्यकर्ता ल्याएर एमालेमा प्रवेश गराउने अभियान सञ्चालन गर्ने ओलीको भनाई छ। 

ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आजै बस्ने जानकारी दिए। आजको बैठकले मङ्सिर २५ गते केन्द्रीय कमिटीको अर्को बैठक बस्ने निर्णय गर्ने ओलीले बताए। 

मंसिर १४, २०७८ मंगलबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।