सुब्बाले 'म' मात्र भनेका थिए, ओलीले सरर पढेर सकाए
चितवन : नेकपा एमालेको निर्वाचन आयोगले दसौँ महाधिवेशनमा भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा १८३७ मत ल्याएर केपी शर्मा ओली निर्वाचित भएका छन्।
अध्यक्षका अर्का प्रत्याशी भीम रावलले २२३ मत पाएर पराजित भएका आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए। एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका सुब्बाले बताए।
पार्टीको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६, सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८५६, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा बादल १७६८ मत सहित विजयी भएका छन्। उपाध्यक्षका उम्मेदवार घनश्याम भुसालले ७२५ मत ल्याएर पराजित भएका छन्।
महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन्।
सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष ओलीलाई आयोगका अध्यक्ष सुब्बाले पदको शपथ गराएका छन्। शपथ गराउँदै सुब्बाले म मात्रै भनेका थिए। तर, ओलीले सरर पढेर सकाए। ओलीले आफूले शपथ लिएपछि पदाधिकारी र सदस्यहरूलाई शपथ गराउँदा भने आफूले जे बोल्यो त्यही वाचन गर्न लगाए।
मंसिर १४, २०७८ मंगलबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।