एमालेको १९ पदाधिकारीमा दुई महिला, ओलीलाई कुर्दै घोषणा सभा
चितवन : नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीमा जम्मा दुई जना महिला निर्वाचित भएका छन्। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल विजयी भए।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव पद मध्ये उपाध्यक्ष शाक्य र सचिवमा अर्याल विजयी भएका हुन्।
केपी ओलीले प्रस्ताव गरे अनुसार उम्मेदवारी दिएका शाक्यले उपाध्यक्षमा सबै भन्दा धेरै मत ल्याइन भने सचिव पदमा अर्यालले तेस्रो मत प्राप्त गरिन्।
१९ जना पदाधिकारी मध्ये कम्तीमा ५ पद महिलालाई दिनुपर्ने माग गरे पनि ओलीको प्रस्तावित सूचि बहिष्कार गरेर एमाले महिला नेत्रीहरूले उम्मेदवारी नै दिएनन्।
एमालेको दसौँ महाधिवेशनले अध्यक्षमा केपी ओलीलाई निर्वाचित गरेको छ। ओलीले अध्यक्षका प्रत्याशी भीम रावललाई पराजित गरे। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भए।
६ उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल र सुवास नेम्वाङ विजयी भएका छन्। महासचिवमा शङ्कर पोखरेल सर्वसम्मत निर्वाचित भए। यस्तै उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत निर्वाचित भए।
सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ विजयी भएका छन्।
एमालेको निर्वाचन आयोगले भने अन्तिम मत परिणामको औपचारिक घोषणा गरिसकेको छैन। एमाले महाधिवेशनको बन्द सत्र भएको हलमा अन्तिम मत परिणाम घोषणाको तयारी भएको छ। हलमा केपी ओली बाहेकका निर्वाचित पदाधिकारी र सदस्यहरूको पुगिसकेका छन्।
ओलीको प्रतीक्षामा बसेका छन् निर्वाचित पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरू।
मंसिर १४, २०७८ मंगलबार १७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।