एमाले अध्यक्षमा ओली निर्वाचित, रावलले ल्याए २३० मत
चितवन : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनले दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ। चितवनमा भएको महाधिवेशनबाट प्रतिस्पर्धी भीम रावललाई पराजित गर्दै ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्।
मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान बिहान १० बजे सकिएको थियो।
अध्यक्षमा ओली निर्वाचित भएसँगै महाधिवेशन स्थल सौराहामा नेता कार्यकर्ताको भीड लाग्न थालेको छ। एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनमै हुने भएको छ।
नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सौराहामै बस्ने तयारी समेत भएको छ। विद्युतीय मतदानमा ओलीले १८०८ मत ल्याए भने उनका प्रतिस्पर्धी रावलले २३० मत ल्याए।
एमालेको काठमाडौँमा भएको नवौँ महाधिवेशनमा ओली माधव नेपाललाई ४४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए। ओलीले दोस्रो अध्यक्षमा सर्वसम्मत हुन गरेको प्रयास असफल भएपछि चुनाव भएको हो।
मंसिर १४, २०७८ मंगलबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।