प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बारले आन्दोलन जारी राख्ने 

प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बारले आन्दोलन जारी राख्ने 

काठमाडौँ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतमा गोला प्रणालीमार्फत पेसी तोक्ने कामको थालनी हुन लागेकोमा स्वागत गर्दै बार एसोसिएसनले प्रधानन्यायाधीशलाई गोला प्रक्रियामा सहभागी नहुन भनेको छ। 

बारले प्रधानन्यायाधीश राणालाई गोलामा सहभागी नहुन, सहभागी भई इजलासमा बसेमा अन्य न्यायाधीशहरुलाई राणा सम्मिलित संयुक्त/पूर्ण/संवैधानिक इजलासमा नबस्न, सुनुवाइ नगर्न अनुरोध गरेको छ।

प्रधानन्यायाधीश राणाको इजलासमा बहस पैरवी नगर्न बारले सम्पूर्ण कानुन व्यवसायीहरूलाई पनि अनुरोध गरेको छ। 

बारले तत्काल जिल्ला, उच्च तथा विशेष अदालत नियमावली संशोधन गरी गोला प्रणाली लागू गर्ने, गराउने व्यवस्था मिलाउन सर्वोच्च अदालत फूलकोर्टसँग माग गर्ने निर्णय पनि गरेको छ।

गोला प्रणाली लागू गर्ने व्यवस्था नभएसम्म विरोध स्वरूप जिल्ला, उच्च तथा विशेष अदालतहरूमा कालोपट्टि बाँधी दैनिक एक घण्टा धर्ना गरी बाँकी समयमा व्यवसाय गर्न, गराउन बारले अनुरोध गरेको छ। 

मंसिर १४, २०७८ मंगलबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।