जुनियर प्रहरीमाथि सङ्गठनकै षड्यन्त्र, अधिकृत बन्नबाट रोक्न तीन नयाँ पद थपियो

जुनियर प्रहरीमाथि सङ्गठनकै षड्यन्त्र, अधिकृत बन्नबाट रोक्न तीन नयाँ पद थपियो

काठमाडौँ : लामो समयसम्म बढुवा अड्किएको भन्दै सरकारले नेपाल प्रहरीको तल्ला दर्जामा नयाँ तीन पद थपेको छ।

मन्त्रीपरिषद् बैठकले प्रहरी निरीक्षकभन्दा तलको पदमा नयाँ तीन पद बढाएको हो। जाम भएको बढुवा खुलाउन नयाँ पद थपिएको भने पनि अब यसले राजपत्र अनाङकित तहमा सङ्गठनमा प्रवेश गरेकाहरू राजपत्राङ्कित तहमा बढुवा भएर जान थप समस्या ल्याउने देखिन्छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रहरी नायव निरीक्षक र प्रहरी निरीक्षकको बिचमा वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को नयाँ पद थपेको छ। यस अगाडि सई तहबाट बढुवा हुँदा सिधै प्रहरी निरीक्षक हुने गर्थे। अब बिचमा अर्को तह पार गर्नुपर्ने भएको छ।

प्रहरी जवान र प्रहरी हवलदारको बिचमा सहायक हवलदार र हवलदार र असइको बिचमा वरिष्ठ हवलदारको पद समेत थप गरिएको थियो।

प्रहरी सङ्गठनमा प्रहरी जवान, प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षकमा मात्र खुल्ला भर्ना लिने गरेको छ। सङ्गठनमा प्रहरी उपरीक्षकमा खुल्ला भर्नाको प्रावधान राख्न माग हुँदै आए पनि प्रहरी नियमावली शंसोधनहुँदा त्यो पुरा गरिएन।

डिएसपी र एसपीको बिचमा समेत वरिष्ठ डिएसपी पद बनाउन सुझाव आएको थियो। तर त्यो समेत कार्यान्वयन नगरी रोकिएको बढुवा खुलाउने भन्दै जुनियरतहमा सङ्गठनमा प्रवेश गरेका सदस्यहरूको बढुवा भएर अधिकृत बन्ने बाटोमा बाधा पुग्ने गरी नयाँ पदहरू बढाइएको छ।

मन्त्रिपरिषद्ले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

योसँगै प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षकको बिचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बिचमा सहायक हवलदार र वरिष्ठ हवलदार पद थप्ने हुनेछ ।

प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हवलदारमा बढुवा हुन लामो समय लाग्ने गरेको थियो ।

मंसिर १४, २०७८ मंगलबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।