शिल्पीको मुक्त रंगमञ्चः 'विकास विरोधी' नाटक लिएर गाउँगाउँमा
करोडौं मानिसको रगत पसिनामा तिम्रो सत्ताको जग बसेको छ
तिमीसँग हुने महँगो गाडी, तिमी बस्ने महँगो कुर्सी
तिमीले खाने बास्मती चामल, तिमीले पिउने महँगो पानी
सबै सबै खर्चमा, सबै विलासितामा
करोडौं जनताको पसिना गन्हाउँछ..
नेपथ्यमा संगीत बज्दाबज्दै मञ्चमा देखापर्छिन् कष्णचाकी आमा सुकुमाया। उनी चरालाई पानी दिन्छिन्।
एउटा बूढो काग दिनहुँ पानी र खानेकुरा खान आउँछ। काग सुकुमायासँग ठट्टा गर्छ। खानेकुरा मीठो नलागेको भन्दै सुकुमायासँग रिसाउँछ।
उनलाई त्यो काग आफ्नो बितेको श्रीमान् जस्तो लाग्छ। किनभने काग लाखे नाचेजस्तै उडेर आउँछ। उनका श्रीमान् पनि खुब लाखे नाच्थे।
उनकी नातिनी लुमन्ती पनि हजुरआमालाई बूढो काग हजुरबा नै हो भनेर जिस्काउँछिन्। कृष्णचालाई भने चिन्तैचिन्ताले घेरेको छ। छोरी छात्रवृत्तिमा नर्सिङ पढ्न चाहन्छिन्, तर नागरिकतामा लुमन्थी, स्कुलको प्रमाण पत्रमा लुमन्ती नाम भएको छ।
छात्रवृत्तिको फर्म भर्ने बेला नजिक आयो तर सरकारी कामकाज समयमा नमिल्दा नर्सिङ पढ्ने अवसर गुमाउन पुग्छिन्। छोरो टन्नै पैसा तिरेर अमेरिका जान चाहन्छ।
पैसाका लागि अलिकति भएको जमिन बेच्न कर गरेको गर्यै छ। श्रीमती र आमा भने जमिन नबेच्ने पक्षमा छन्।
किसान कृष्णचा खेतीपातीले लगानी उठाउन नसक्दा रन्थनिएको छ। मलको भाउ आकाशिएको छ, खेतीपातीका काम गर्ने कामदारहरू पाउनै मुस्किल छ।
बीउ किनिसाध्य छैन। हरेक कुरा महँगीए पनि सागको भाउ जत्तिको तत्ति छ। घरमा बसेर माटोकै भाँडो बनाउने श्रीमती पनि व्यापार नहुँदा दिक्क छिन्।
पुर्खाले जोडिदिएको अलिकति जग्गामा पनि विकासको नाममा सडक बन्दैछ। जग्गाबापत निकै कम मूल्यमा मुआब्जा दिनेवाला छ सरकारले।
सुकुमाया बन्दुक हाने पनि आफ्नो जग्गामा सडक बन्न नदिने अडानमा छिन्। थोरै भए पनि मुआब्जा लिने या छातिमा डोजर थापेर बस्ने निर्क्यौल गर्न कृष्णचालाई मुस्किल छ।
त्यसैले सरकारी कर्मचारीदेखि दलालसम्म उनका घर वरपर घुमेको घुम्यै छन्।
के कृष्णचाका परिवार र छिमेकी विकास विरोधी हुन्? कृष्णचाको परिवारलाई सुकुम्बासी बनाउने निती विकास नै हो त? नाटक 'ठूला माछा, साना माछा' हेरेपछि यी प्रश्नले दर्शकलाई अवश्य सताउनेछ।
नाटक भएठाउँमा दर्शक हैन, दर्शक भएठाउँमा नाटक पुग्नु मुक्त रंगमञ्च हो। यति बेला शिल्पी थिएटर खुला ठाउँमा स्वतन्त्र रंगकर्म गरिरहेको छ। अझ भनौ नाटक बोकेर गाउँ-गाउँ गइरहेको छ।
देशभर डुलेर शिल्पीले गाउँमा पुगेको 'विकास'ले त्यहाँका स्थानीय कति पीडित छन् भन्ने कुरा देखाउन खोजेको छ।
भएको सम्पत्तिको निकै कम मूल्यांकन गरेर दिइने मुआब्जा र त्यसले सृजना गरेको परिस्थिती नै नाटक 'ठूला माछा, साना माछा'को मुख्य पाटो हो।
नाटकले विकास पुग्दै गरेका हरेक गाउँ र शहरीकरणले छपक्क छोपेको ठाउँको समस्या उठान गरेको छ।
यहि सिलसिलामा कलाकारको जम्बो टोली सोमबार वसन्तपुर डवलीमा पनि पुगेको थियो। नाटकका निर्देशक घिमिरे युवराजलाई प्रस्तुती सकिएपछि उकेराकर्मीले सोध्यो, 'तपाईंको यो नाटक विकास विरोधी भएन?'
उनले जवाफ दिए, 'यहि सानो ठाउँ बाँकी छ, यहाँ पनि व्यापार चलिरहेको छ। फेरि ०७२ सालको जस्तै भूकम्प आए बस्नलाई खुला ठाउँ छैन। चोकचोकमा विकासको नाममा गाईका मूर्ति बनेका छन्, सालिक बनेका छन्', उनले अझै थपे, 'गाउँमा असली फलफूलका बोट काटेर सुन्तला जुनारको सालिक, आलु मुलाका सालिक बनिरहेका छन्। जंगल फडानी गरेर थोरै उँचाइ भएको ठाउँमा पनि भ्यू टावर बनिरहेका छन्। एकै ठाउँमा पुग्न पार्टी पार्टीका आ–आफ्नै सडक बनेका छन्। यस्ता विकासको भने यो नाटक विरोधी नै हो।'
बजेट पचाउन र भ्रष्टाचार गर्न यस्ता परियोजनाहरू बनिरहेको भन्दै युवराजले भने, 'यसले हाम्रा प्राकृतिक स्रोतलाई मात्रै मासिरहेको छैन, भविष्यका पुस्तालाई नै अन्धकारमा धकेलिरहेको छ।'
नाटकमा विचौलियालाई पनि कटाक्ष गरिएको छ। 'दलालहरू बजारमा, किन्न पाइन्छ हजारमा' जस्ता नाराहरू प्रयोग गरिएका छन्।
मेयरले उपमेयरलाई नसोधेरै विकास निर्माणका योजनाहरू पास गरिरहेको बेथितिलाई समेत नाटकमा समेटिएको छ।
मंसिर १४, २०७८ मंगलबार १३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।