गृहमन्त्रीका भाइलाई 'टीको' लगाएर निर्वाचित गरे पनि लुम्बिनीका ९ जिल्लामा पौडेल पक्ष विजयी
बुटवलः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये १० जिल्लामा नयाँ नेतृत्त्व चयन भइसकेको छ। बाँकी बर्दियामा मतगणनाको तयारी भइरहेको छ भने बाँकेमा अधिवेशन अर्को सूचना नआउञ्जेलका लागि स्थगित गरिएको छ।
१० जिल्लामा सभापति निर्वाचित हुँदा पौडेल पक्ष हावी भएको छ। जिल्ला अधिवेशनको नेतृत्त्वमा संस्थापन र इतर पक्षबीच प्रतिस्पर्धा भएको थियो।
अर्घाखाँचीमा रामचन्द्र पौडेल पक्षका केशव श्रेष्ठ विजयी भएका छन्। संस्थापन पक्षका यादव प्रसाद घिमिरेलाई हराउँदै श्रेष्ठ विजयी भए। श्रेष्ठले ७ सय ३१ मत ल्याएका थिए भने घिमिरेले ३ सय ९ मत मात्र ल्याए।
गुल्मीमा पौडेल समूहका खिलध्वज पन्थी सभापतिमा विजयी भएका छन्। पन्थीले १ हजार २ सय ७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षका बेदबहादुर थापाले ३ सय ८४ मत पाए।
कपिलबस्तु जिल्ला सभापतिमा पनि पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन्। संस्थापन पक्षका उम्मेदवार राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै कलाम विजयी भएका हुन्। कलामले ९ सय २८ र राजेश आचार्यले ८ सय १९ मत प्राप्त गरे।
पश्चिम नवलपरासीको सभापतिमा पनि पौडेल पक्षका अर्जुनकुमार पोखरेल निर्वाचित भए। संस्थापन पक्षका प्रत्यासी मोहनप्रसाद शर्मालाई १ सय ९५ मतको अन्तरले पराजित गर्दै पोख्रेल निर्वाचित भएका हुन्। पोखरेलले ७ सय ५६ र निकटतम् प्रतिद्वन्द्वी शर्माले ५ सय ६१ मत प्राप्त गरेका थिए।
प्युठान जिल्ला सभापतिमा पनि पौडेल पक्षका विष्णुकुमार गिरी निर्वाचित भए। गौमुख गाउँपालिकाका अध्यक्ष समेत रहेका गिरी संस्थापक पक्षका शिव रिजाललाई ७२ मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
रोल्पा जिल्लाको सभापतिमा पनि पौडेल पक्षका किशोर आचार्य निर्वाचित भएका छन्। देउवा पक्षका सभापतिका उम्मेदवार मानबहादुर खत्रीलाई हराउँदै आचार्य निर्वाचित भएका हुन्। आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाए।
कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका मगर निर्वाचित भएका छन्। रोका पनि पौडेल पक्षीय नेता हुन्।
दाङ कांग्रेसको जिल्ला सभापतिमा पनि पौडेल पक्षका शंकरप्रसाद डाँगी निर्वाचित भएका छन्। डाँगीले ७ सय ७६ मत ल्याए। उनका प्रतिस्पर्धीहरू भूपबहादुर डाँगीले ५ सय ४५, जानकीलाल बस्नेतले ४ सय ७१ र कमल किशोर घिमिरेले ३ सय १५ मत पाएका थिए।
पाल्पा जिल्ला सभापतिमा पनि पौडेल पक्षका हिमालदत्त श्रेष्ठ विजयी भएका छन्। पाल्पामा क्षेत्रीय सभापति र प्रदेश सभापतिमा समेत पौडेल पक्षका विजयी भएका छन्। पाल्पामा देउवा पक्ष ‘क्लीन स्वीप’ भएको छ।
प्रदेशको एक जिल्लामा मात्र अहिलेसम्म निर्विरोध निर्वाचित भएको छ। त्यो रुपन्देही हो। गृहमन्त्री बालकृष्ण खाँणको सहोदर भाइ रामकृष्ण खाँण रुपन्देहीको जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। भाइलाई अध्यक्ष बनाउन खाँण ३ दिन गृहजिल्लामा अड्डा जमाएर बसेका थिए।
मंसिर १४, २०७८ मंगलबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।