'भोट नहाल्ने नामावली'बारे एमाले निर्वाचन आयोग: 'कसले के बाँडे भनेर खल्ती छाम्दै सडकतिर गइँदैन'

'भोट नहाल्ने नामावली'बारे एमाले निर्वाचन आयोग: 'कसले के बाँडे भनेर खल्ती छाम्दै सडकतिर गइँदैन'

चितवनः नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा ओली पक्षका नेता/कार्यकर्ताले भीम रावलसहितका उम्मेदवारलाई मत नहाल्न पत्र बाँडे। 'भोट नहाल्ने नामावली' नै प्रकाशन गरेर पत्र बाँडिएपछि अहिले सो कार्यको चौतर्फी विरोध भइरहेको छ।

यता पार्टीको निर्वाचन आयोगको केन्द्रीय सदस्य कमलराज पाठकले भने आयोगले यसबारे आधिकारिक जानकारी नपाएको भन्दै पन्छिने कुरा गरे। 'भित्र कागज लिएर गएर, प्यानल बनाएर भोट हालेको देखेको छैन। हामीले आधिकारिक रूपमा जानकारी नपाएसम्म बाहिर सडकमा कसले के बाँड्यो भन्ने कुरालाई लिएर निर्वाचन आयोगले महत्त्व दिएर हेरेको छैन। भित्र पत्र लिएर गएको देखियो भने रोकिन्छ', उनले भने।

उनले बाहिर कसले के बाँडे भनेर 'खल्ती छाम्दै' नजाने बताए। 'सडकमा खल्ती छाम्दै जाने होइन। उजुरी आयो भने आयोगले छानविन गर्ने कोसिस गर्छ। उजुरी पर्यो भने प्यानलवाइज पत्र बाँड्ने काम नगर्न अनुरोध गरिन्छ', उनले भने।

यस्तै निर्वाचनमा प्यानल बनाएर कोही पनि उम्मेदवार नउठेको उनको दावी छ। उनले दुई तीन जना मिलेर 'यसलाई भोट हाल्ने' भनेकोमा उनीहरूलाई नरोकिएको बताए। 

 

मंसिर १४, २०७८ मंगलबार १०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।