एमालेको महाधिवेशन: भोट नहाल्न सिकाउने पहिलो चुनाव

एमालेको महाधिवेशन: भोट नहाल्न सिकाउने पहिलो चुनाव

चितवनः नेकपा एमालेको १०औं महाधिवेशनमा अचम्मको दृश्य देखियो। अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको खेमाले चुनावमा यसअघि कहिल्यै देख्न नपाइने काम गर्यो।

मङ्गलबार बिहान ४ बजेबाट सुरु भएको मतदान कार्यक्रममा ओली खेमाका कार्यकर्ताहरू भोट नहाल्न सिकाउँदै थिए। चुनावमा भोट कसरी हाल्ने, कसलाई हाल्ने भन्ने विषयमा नेताहरूले मतदातालाई प्रशिक्षण गर्दै आएकोमा ओली समूहले भने कसलाई भोट नहाल्ने भन्दै सिकाएको भेटियो।

उनीहरूले कागजमा उम्मेदवारहरूको लिस्ट नै तयार पारेर भोट नहाल्न सिकाइरहेका थिए। 'भोट नहाल्ने नामावली' नै प्रकाशन गरिएको थियो।

एमालेको नयाँ नेतृत्त्वका लागि अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। ओली खेमाले रावल र अन्य उम्मेदवारलाई मत नदिन महाधिवेशन प्रतिनिधिलाई सूचित गरेको हो।

यता रावलले भने ट्वीटर मार्फत आफ्नो असन्तुष्टि जनाएका छन्। उनले लेखेका छन्- 'चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान ईलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु। उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।'

यता निर्वाचन आयोगले देशमा चुनाव हुने छाँटकाँट देखिएमा करोडौं खर्चेर मतदाता प्रशिक्षण गर्छ। दलहरू नै पनि आन्तरिक चुनावमा महाधिवेशन प्रतिनिधिलाई भोट हाल्ने तरिका सिकाउँछन्। तर एमालेको महाधिवेशनमा भने ठीकविपरीत दृश्य देखिएको छ।

एमालेको यो महाधिवेशनको मतदान प्रक्रिया बिहान १०:३० सम्ममा सकिने अनुमान गरिएको छ। हालसम्म १५ सयभन्दा बढी मत खसेको बताइएको छ।

मंसिर १४, २०७८ मंगलबार ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।