महाधिवेशन स्थल फर्केनन् ओली, पार्क भिलेजमै जमाए डेरा
चितवन : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको १२ घण्टापछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। एमालेको निर्वाचन आयोगले अहिले पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको बताएको छ।
आयोगका अध्यक्ष विजय सुब्बाले अध्यक्ष एक पदका लागि दुई जनाको, उपाध्यक्ष ६ पदका लागि सात जनाको र सचिव ७ पदका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए।
उनका अनुसार प्रत्यक्ष खुला सदस्य, प्रत्यक्ष महिला, दलित खुला, आरक्षण खुला, पिछडिएको क्षेत्रमा निर्वाचित हुने पदभन्दा एक एक जना बढी उम्मेदवारी दर्ता भएकाले अहिले पनि सहमतिको प्रयास भइरहेको बताए।
एमालेको अध्यक्ष पदमा आफू सर्वसम्मत हुन गरेको प्रयास असफल भएपछि केपी ओली पार्क भिलेजमा बसेर सदस्यहरूमा सर्वसम्मत गराउन व्यस्त भएका छन्। ओलीसँग प्रतिस्पर्धा गर्न भीम रावलले बिहान ८ बजे नै अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए। ओलीले बिहान साढे ९ बजे मात्रै अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए।
लुसुक्क उम्मेदवारी दिएर फर्केका ओली दिनभर र बेलुकी अबेरसम्म पनि पार्क भिलेजमा बसेर सदस्य पदमा सर्वसम्मत गराउन लागेका छन्।
ओली सर्वसम्मतको प्रयासमा लागेकाले बेलुकी ९ बजेबाट मतदान सुरु गर्ने तालिका बनाएको एमालेको निर्वाचन आयोगले बल्ल उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। तर, अझै सहमतिको प्रयास भइरहेकाले मतदान ढिलो सुरु हुने आयोगका अध्यक्ष सुब्बाले जानकारी दिए।
अध्यक्ष पदमा सुरुमै उम्मेदवारी दर्ता गरेका रावल दिनभर भोट माग्न व्यस्त रहे भने अन्तिममा उम्मेदवारी दर्ता गरेका ओली पदाधिकारी बाहेकमा सर्वसम्मत गराउन लागे। ओली खुला महिला कोटामा एक जना आकाङ्क्षीलाई मनाएर सर्वसम्मत निर्वाचित गराउन सफल भए। क्लष्टरका १० जनालाई उनले मनाउन सकिरहेका छैनन्।
उनी उम्मेदवारी दर्ता गरेर भोट माग्न निस्किएनन्। अध्यक्षका उम्मेदवार रावलले भने महाधिवेशन प्रतिनिधिहरूसँग हात जोडेर भोट मागे। आज बिहान ९ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया सहमति र आकाङ्क्षी घटाउन बेलुका ९ बजे पुर्याइएको थियो।
तर, मतदान प्रक्रिया पर सार्दै केन्द्रीय सदस्यमा चुनाव नगराउने ओलीको नीति छ। ओलीले अध्यक्षमा रावलको उम्मेदवारीलाई चुनौती नै मानेका छैनन्। ‘जित्ने उहाँ (ओली) नै हो,’ओली निकट एक नेताले उकेरासँग भने,‘बिरालो बाँधेर श्राद्ध गरेजस्तो मात्र हो, के को लागि प्रचार गर्ने?’
ओली निकट नेता सूर्य थापाले अहिले पनि सहमतिको प्रयास भइरहेको जानकारी दिए। ‘सहमतिको लागि अध्यक्षज्यू छलफल गरिरहनु भएको छ,’थापाले उकेरासँग भने,'प्रचार गरिरहन आवश्यक छैन।’
रावल भने महाधिवेशन प्रतिनिधिलाई जनताको बहुदलीय जनवादको मर्म र सिद्धान्तअनुरूप अध्यक्ष पदको उम्मेदवार बनेको भन्दै भोट माग्नमै व्यस्त भइरहेका छन्। उनले भोट माग्दै भनेका छन्,‘विवेक प्रयोग गर्नुपर्छ, विवेक गुमाउनुहुँदैन।’ ओली भने उम्मेदवारी दर्ता गरेपछि अहिलेसम्म महाधिवेशन स्थल पुगेका छैनन्।
मंसिर १३, २०७८ सोमबार २२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।