रावल-घनश्याम दिनभर भोट माग्न व्यस्त, ओलीसहितका प्रतिस्पर्धी रिसोर्टमै मस्त

रावल-घनश्याम दिनभर भोट माग्न व्यस्त, ओलीसहितका प्रतिस्पर्धी रिसोर्टमै मस्त

चितवन : अध्यक्ष पदमा उम्मेदवारी दर्ता भएदेखि नै एमाले नेता भीम रावल महाधिवेशन प्रतिनिधीहरुसँग हात जोड्दै भोट माग्न व्यस्त रहे। प्रतिनिधिले खाना खाने ठाउँ, खाजा खाने ठाउँ कतै छाडेनन् उनले। सबैतिर पुगेर हात जोडीजोडी भोट मागिरहेका थिए।

उनी' ल है भोट दिनुस्' भन्दै आफू किन उम्मेदवार भएको भन्ने प्रस्ट्याइरहेका देखिन्थे। कतिपय महाधिवेशन प्रतिनिधिले हाँसेर प्रतिक्रिया दिन्थे भने कतिपयले भने मुखै फोरेर अध्यक्ष पद बाहेक अन्य पदमा उठेको भए भोट दिने बताउँथे।

महाधिवेशनमा २ हजार १ सय ५३ प्रतिनिधि छन्। केही प्रतिनिधिमा भने उनी पराजित भए कतै पार्टी छाडेर माधव कुमार नेपालको पार्टीमा पो जाने हो कि भन्ने चिन्तामा देखिन्थे। मत माग्न आएका रावललाई उनीहरूले आग्रह गरिरहेका थिए' हारे पनि पार्टी चैँ नछाड्नुस् है।' रावल यो सुनेर हाँस्थे।

केही प्रतिनिधीहरुले भने अहिलेको अवस्थामा पार्टी नेतृत्वमा केपी ओली चाहिन्छ भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका थिए। भोट माग्न व्यस्त रहेका उनलाई उकेराले माहौल कस्तो छ? भनेर सोधेको थियो। उनले भने,‘राम्रो छ, राम्रो देख्या छु।’ 

उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल पनि प्रतिनिधीहरुमाझ भोट माग्न व्यस्त रहँदा उनीहरूका प्रतिस्पर्धी भने महाधिवेशन प्रतिनिधीहरुमाझ दिनभर देखिएनन्। अध्यक्षका उम्मेदवार केपी ओली नै प्रतिनिधीहरुमाझ भोट माग्न निस्किएनन्। उपाध्यक्षका उम्मेदवारमध्ये अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली देखिएका थिए। सचिवका उम्मेदवारमध्ये टंक कार्की मात्रै भोट माग्न खटिएका थिए। 

हुन त ओलीले आइतबार बेलुका बन्द सत्रमै आफ्नो तर्फका पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम पढ्दै ' अनि मेरो नाम चैँ' भन्दै भोट मागेका थिए। अर्को समूहका नेताहरु पनि ओली बसेको रिसोर्टमा दिनभर बसेर रणनीति बनाए। मैदानमा उत्रिएर भोट माग्ने दुख गरेनन्।

महाधिवेशनको प्रतिनिधि चयनको बेलामा उनको समूहले सर्वसम्मतभन्दै आफू अनुकूल प्रतिनिधिहरू ल्याएका पनि उनीहरू ढुक्क देखिए। त्यसैले मैदानमा भोट माग्ने दुख गरेनन्।

ओली समूहले बनाएको सूची अनुसार पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा मात्रै थप उम्मेदवारी पर्यो। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवका उम्मेदवार निर्विरोध भएकाले समेत उनीहरूको आत्मबल बढेको देखिन्थ्यो।

केन्द्रीय सदस्यहरूमा पनि सूचीमा नपरेकाहरूले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू पनि प्रतिनिधीहरुमाझ भोट माग्दै हिँडिरहेका थिए।

मंसिर १३, २०७८ सोमबार २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।