राप्रपाका दोस्रो पुस्ताका नेता राजेन्द्रको पक्षमा
काठमाडौँ ः राष्ट्रिय प्रजातन्त्र पार्टीका दोस्रो तहका नेताहरूको भेलाले अध्यक्षमा उम्मेदवारी घोषण गरेका कमल थापालाई दोस्रो तहका नेताहरूले नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्।
सोमबार बसेको भेलाले पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेकाले थापालाई पनि युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेर अभिभावकमा बस्न आग्रह गरेका हुन्।
भेलामा पूर्व मन्त्रीहरू दुर्गा श्रेष्ठ, आङ छिरिङ शेर्पा, जगत गौचन, पूर्व महामन्त्री राजाराम श्रेष्ठ, सभासदद्वय शयन्द्र वान्तवा र बबिना मोक्तान लावती, युवा नेताहरू रवीन्द्र प्रताप शाह, किशोर बहादुर कार्की, दिनेश कार्की, गोपाल दाहाल, प्रवीण थोकर, प्रेम बलायर, मिना सुवेदी, विजकला राई, गोपी ढकाल, राजु लोहनी, प्रेम देसार, यज्ञबहादुर सिंह, कालीबहादुर शाही, मनिराज तामाङ, गोपी शर्मा, लालबहादुर घिसिङ, जिल्ला अध्यक्ष विकास महत, विद्यार्थी नेताहरू धनशुर शाही, एन्टीसंघर्ष राई लगायत पाँच दर्जन सहभागी उपस्थित थिए।
‘नयाँ पुस्तामा सर्वसम्मत पार्टी नेतृत्व हस्तान्तरण गर्ने, अन्यथा निर्वाचन प्रक्रियाबाट यो लक्ष्य पूरा गर्ने भेलाको निचोड रह्यो,’ राप्रपाका नेता सगुन सुन्दर लावतीले जानकारी दिए।
‘दुई अध्यक्षज्यूहरूले पार्टी हित र एकताका लागि निर्वाचन दौडबाट अलग रहने निर्णय गर्नु भएको परिप्रेक्ष्यमा, अर्का अध्यक्षज्यूले पनि अभिभावकको सम्मानित भूमिकामा बस्नु स्वागतयोग्य हुने विषयमा भेलाको गम्भीर ध्यानाकर्षण भयो,’ लावतीले भने।
अध्यक्ष राणाले यस अघि नै पार्टी हित र एकताका लागि निर्वाचनबाट अलग रहने निर्णय गरी सकेका छन् । अध्यक्ष लोहनीले पनि नयाँ पुस्ताको समर्थन गर्दै उम्मेदवारी नदिने निष्कर्षमा पुगेका छन्।
यस सम्बन्धमा लोहनीले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै छन्। राप्रपाका अध्यक्षत्रयमध्ये थापा मात्र निर्वाचनको दौडमा छन्। नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
मंसिर १३, २०७८ सोमबार २०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।