मणि थापाको दाबी : एमालेमा पूर्वमाओवादी लोकप्रिय 

मणि थापाको दाबी : एमालेमा पूर्वमाओवादी लोकप्रिय 

चितवन : नेकपा एमालेको महाधिवेशनमा सहभागी प्रतिनिधिहरू भोट खसाल्न आतुर देखिएका छन्। तर, एमालेको निर्वाचन आयोगले पदाधिकारी बाहेकमा सहमतिको प्रयास जारी रहेकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न ढिलो भएको जानकारी दिएको छ। 

केन्द्रीय कमिटी सर्वसम्मतबाट चयन हुने भन्दै चितवन पुगेका प्रतिनिधिहरूलाई उम्मेदवारले भोट माग्न थालेपछि चुनाव लागेको छ। 

अध्यक्ष मण्डलको बैठकमा सहमति नभएको खबर पाएपछि भीम रावल र माधवकुमार नेपाल विरुद्ध नारा लगाएका ओली समर्थक प्रतिनिधि रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि रिसाएका छन्। उनीहरूले रावललाई एमाले छाडेर एकीकृत समाजवादीमा जान भनेका छन्।  

रावलकै कारण चुनाव भएको ओली समर्थकको बुझाइ छ। उम्मेदवारहरू प्रचारमा कम र मिडिया ब्रिफिङमा व्यस्त छन्। कार्यकर्ताहरू आफ्नो क्षेत्रको उम्मेदवारलाई जिताउने जोड घटाउमा व्यस्त छन्। 

उपाध्यक्षमा उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे अहिले आन्तरिक जोड घटाउको हिसाब गर्दै तल्ला तहका कार्यकर्ता परिचालन गरेर प्रचारमा व्यस्त छन्। 

अध्यक्षका उम्मेदवार भीम रावल सबै भन्दा व्यस्त देखिएका छन् भने उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल धेरैले ‘अब के हुन्छ’ भनेर सोधेका छन्। उनी अब चुनाव हुने जवाफ दिइरहेका छन्। 

पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका मणि थापाले एमालेमा पूर्वमाओवादीबाट आएकाहरू लोकप्रिय रहेको बताए। उनले एमालेको पदाधिकारीमा तीन जनाको उम्मेदवारी केपी ओलीसँगको सहमतिमै दर्ता भएको बताए। उनले महाधिवेशन प्रतिनिधिमा पूर्वमाओवादीबाट २ सय जना रहेको दाबी गरे। 

एक केन्द्रीय सदस्यले केपी ओलीको कोटामा नपरेकाले उम्मेदवारी नदिएको बताएका छन्।

मंसिर १३, २०७८ सोमबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।