इन्टाग्राममा ट्रयाप थाप्ने ट्याटु आर्टिस्टको मोवाइमा ४६ किशोरीका नग्न तस्बिर र भिडियो, पिडित कुर्दै प्रहरी

इन्टाग्राममा ट्रयाप थाप्ने ट्याटु आर्टिस्टको मोवाइमा ४६ किशोरीका नग्न तस्बिर र भिडियो, पिडित कुर्दै प्रहरी

काठमाडौँ : पन्ध्र वर्षकी किशोरीको जाहेरीको आधारमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको लव खड्गीलाई हिरासतमा राखेर अनुसन्धान गर्दा प्रहरीले उनको मोबाइलबाट ४६ जना युवतीको नग्न तस्बिर फेला पारेको छ।

प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट सम्पर्कमा आएर नग्न तस्बिर माग्ने र धम्क्याउने गरेको भन्दै एक किशोरीको बयानको आधारमा उनलाई पक्राउ गरेको थियो।

अदालतबाट म्याद लिएर उनको मोबाइलको परीक्षण गर्दा प्रहरीले मोबाइलभरि युवतीका नग्न तस्बिरहरू फेला पारेपछि उनी सिरियल पिडक भएको खुलेको छ।

उनले फेसबुक र अझ विशेष इन्सटाग्रामबाट किशोरी र युवतीहरूसँग नजिक भएर कुराकानी गर्ने गरेका थिए। उनले बिस्तारै आफू बैंककमा रहेको भन्दै नजिक हुन्थे र नग्न तस्बिर र भिडियो पठाउन मनाउँथे।

उनी बैंककमा नभई काठमाडौँको भोटेबहालमा बस्थे। उनी वसन्तपुरको एक ट्याटु हाउसमा ट्याटु आर्टिस्टको रूपमा काम गर्थे। जब यस्ता सामाग्री हात पार्थे अनि युवतीहरूलाई धम्काएर भेट्न बोलाउने गर्थे।

प्रहरीले उनलाई पक्राउ गरेर मोबाइल जफत गरेर परीक्षण गर्दा पीडित किशोरीसँगै अन्य युवतीहरूको समेत नग्न तस्बिर र भिडियोहरू फेला पारेको थियो। यति मात्रै हैन उनले आफ्नो ग्राहकहरूको समेत संवेदनशील अङ्ग देखिने गरी तस्बिर र भिडियो बनाउने गरेको उनको मोबाइलबाट खुलेको छ।

उनको मोबाइलमा टन्नै पीडितहरूको तस्बिर र भिडियो फेला पारे पनि उनीहरूबारे जानकारी नहुँदा सम्पर्क गर्न सकेको छैन। ब्युरोका एक अधिकारीले अहिलेसम्म तीन जना पीडित सम्पर्कमा आए पनि अन्य भने सम्पर्कमा नआएको उकेरालाई जानकारी दिए। प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुन र कसैले यसरी धम्क्याएर अश्लील तस्बिर र भिडियो मागेको भए ब्युरोमा सम्पर्क गर्न आग्रह गरेको छ।

मंसिर १३, २०७८ सोमबार १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।