राप्रपा अध्यक्षमा पशुपति र प्रकाशचन्द्र ब्याक भए, कमल र राजेन्द्रको सिधा टक्कर
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी दुवैले अध्यक्षमा उम्मेदवारी नदिने भएका छन्। पार्टी नेतृत्वमा युवा समूहबाट राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेपछि यी दुवै उम्मेदवारबाट ब्याक हुन लागेका हुन्।
लोहनीले अब आफू उम्मेदवार नबन्ने भन्दै लिङदेनलाई खुलेरै समर्थन गर्ने भएका छन्। राणाले आफू निकटका नेताहरूलाई उम्मेदवार नबन्ने सन्देश दिए पनि समर्थनबारे खुली सकेका छैनन्।
यी दुवै नेताले अध्यक्षमा उम्मेदवारी नदिए पछि अब आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङदेनविच सिधै टक्कर हुने भएको छ। सोमबार थापाले पत्रकार सम्मेलन गरेर अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले लिङदेनलाई पार्टी नेतृत्वका लागि चार वर्ष कुर्न आग्रह गरेका थिए।
तर लिङदेनले धवल शमशेर राणासँग मिलेर प्यानल बनाएर उम्मेदवारी घोषणा गरिसकेका छन्। उनको प्यानलबाट धवल महामन्त्रीको उम्मेदवार बन्दैछन्। उनलाई नायिका रेखा थापाले समेत साथ दिइरहेकी छिन्।
उम्मेदवारी घोषणा कार्यक्रमको रौनक हेर्दा कमल थापा हाबी देखिए पनि नयाँ प्रतिनिधीहरुले के निर्णय गर्छन् यकिनसाथ भन्न सकिँदैन। लिङदेन प्रतिनिधि सभामा राप्रपाका एकल सांसद समेत हुन्। उनी पहिला थापाकै सहयोगी थिए। अब थापालाई नै टक्कर दिने भएका छन्। पशुपतिको समर्थन समेत पाएमा थापामाथि लिङदेन हाबी हुनेछन्।
मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा राप्रपाको महाधिवेशन हुँदै छ।
मंसिर १३, २०७८ सोमबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।