कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे : चार ‘ब’को एजेन्डासहित उम्मेदवारी घोषणा 

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे : चार ‘ब’को एजेन्डासहित उम्मेदवारी घोषणा 

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पाण्डेले पत्रकार सम्मेलन गरेर सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टर अन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने उनले बताए।

पाण्डे कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। 

पाण्डेले चार ‘ब’ अर्थात् विचार, विधान, बैठक र व्यवस्थापनअन्तर्गतका आफ्ना एजेन्डा रहेको सुनाए। विचारमा एकरूपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको आफ्नो एजेन्डा भएको पाण्डेले बताए। 

राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डेले पार्टी सुधार्न नेतृत्वले आत्मालोचना गरेर सुध्रिनुपर्ने धारणा व्यक्त गरे। 

पार्टीमा जेसिजमा जस्तै एक व्यक्ति, एक पद र एक कार्यकालको व्यवस्था गर्नुपर्ने आफ्नो मान्यता रहेको सुनाउँदै उनले अब आफू कुनै पनि पदमा नदोहोरिने बताए। 

पाण्डे २०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य र २०७४ सालको राष्ट्रियसभा निर्वाचनमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। 

कांग्रेसको हालको विधानले महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र क्लष्टरबाट एक÷एक जना गरी आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ। कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदै छ। 

मंसिर १३, २०७८ सोमबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।