कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतको टाउको फुट्यो
सर्लाही : नेपाली कांग्रेस सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ८ को अधिवेशनमा झडप भएको छ।
मतदान अधिकृतलाई कब्जामा लिएर सर्वसम्मत निर्वाचित भएको घोषणा गर्न लगाउने पक्ष र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए।
‘मतदान अधिकृतलाई कब्जामा लिएर हाम्रो पक्षमा माहोल छ, निर्वाचित भएको प्रमाण दिन दबाब दिइरहेको खबर आएपछि प्रहरी खटायौ,’खतिवडाले उकेरासँग भने,‘प्रहरीले कब्जामा रहेका निर्वाचन अधिकृत र मतदान अधिकृतलाई उद्धार गरेर ल्याउँदा झडप भयो।’
कब्जामा लिने पक्षले प्रहार गरेको ढुङ्गा लागेर मतदान अधिकृत उमेशचन्द्र झा सहित ४ जना र प्रहरीले लाठी प्रहार गर्दा एक जना कांग्रेस कार्यकर्ता घाइते भएका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।
ढुङ्गा लागेर मतदान अधिकृतको टाउकोमा गहिरो चोट लागेको उनले बताए।
वडा अधिवेशनमा प्रदेश २ का महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले आइतबार हवाई फायर गरेका थिए।
मंसिर १३, २०७८ सोमबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।