भीम रावललाई उम्मेदवारी फिर्ता लिन ओली समर्थकको दबाब  

भीम रावललाई उम्मेदवारी फिर्ता लिन ओली समर्थकको दबाब  

चितवन : नेकपा एमालेको केन्द्रीय कमिटीको अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। रावल महाधिवेशनका प्रतिनिधिसँग भोट माग्न व्यस्त भएका छन्। ओलीलाई रावलको जस्तो भोट मागिरहनु पर्ने चटारो देखिएको छैन। 

महाधिवेशनका २ हजार १५३ प्रतिनिधि मध्ये दुई तिहाइ भन्दा धेरै आफू समर्थक प्रतिनिधिलाई सर्वसम्मत गराएका ओलीले आफू रावलसँग अध्यक्षमा पराजित हुन्छु भनेर कल्पना समेत गरेका छैनन्। रावलले पनि आफ्नो मात्रै मत आए पनि अध्यक्षमा चुनाव गराएरै छाड्ने अडान लिएका छन्। 

रावल ‘मलाई भोट दिनुहोस्’ भन्दै प्रतिनिधिहरूलाई भोट मागिरहेका छन्। तर, प्रतिनिधिहरू ‘तपाईँले गर्दा सबै कार्यकर्ताले दुख पाए फिर्ता लिनुस्’ भन्ने जवाफ दिइरहेका छन्। रावल त्यस्तो होइन भन्ने जवाफ दिएर भोट माग्नबाट पछि हटेका छैनन्। 

ओलीका समर्थकहरू ‘संसद्मा ध्वनि मतले निर्णय हुन्छ यहाँ किन हुँदैन? सब भँडुवा छन्’ भनेर रावललाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका छन्। उनीहरू उम्मेदवारी फिर्ता लिने ठाउँ रहेको समेत रावललाई सुनाइरहेका छन्। 

रावल चुनाव नगरी महाधिवेशन नहुने भन्दै निष्पक्ष मतदान भए अध्यक्षमा विजयी हुनेमा ढुक्क भएको प्रतिनिधिलाई भोट माग्दै आश्वस्त पार्न लागेका छन्। ल है भोट दिनुस् भन्दै हिँडेका रावललाई ओली समर्थक मतदाताले अध्यक्ष भन्दा बाहिर उम्मेदवारी दिएको भए भोट दिने जवाफ दिइरहेका छन्। 

भोट माग्न व्यस्त अध्यक्षका उम्मेदवार रावलले आफ्नो पक्षमा माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन्। तपाईँको पक्षमा माहोल कस्तो छ? भन्ने उकेराको प्रश्नमा रावलले भने,‘राम्रो छ, राम्रो देख्या छु।’ रावल अहिले सुदूरपश्चिमका प्रतिनिधिसँग भोट माग्न छुट्टै छलफलमा बसेका छन्। 

एमालेको दसौँ महाधिवेशनबाट ओलीले माधव कुमार नेपालको पार्टीमा नगई एमालेमै फर्किएका १० भाइलाई पाखा लगाएका छन्। घनश्याम भुसालले उम्मेदवारी दिएपछि दश भाइ मध्येका एक सुरेन्द्र पाण्डेको उपाध्यक्ष पदमा चुनाव हुने भएको छ। 

भीम आचार्य र टङ्क कार्कीले सचिवमा उम्मेदवारी दिएपछि १० भाइ मध्येका योगेश भट्टराई र गोकर्ण विष्टले पनि चुनाव नै लड्नु पर्ने भएको छ। 

 

मंसिर १३, २०७८ सोमबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।