ओली-रावल आमने-सामने : रावलले कस्ता प्रतिनिधिको भोट पाउलान् ?
काठमाडौं : नेकपा एमालेको सर्वसम्मत अध्यक्ष बन्ने केपी शर्मा ओलीको प्रयास असफल भएको छ। केन्द्रीय कमिटीमा सर्वसम्मत नेतृत्व चयनका लागि केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा सहमति हुन नसकेपछि चुनावी प्रक्रिया सुरु भएको छ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। ओलीले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका थिए। ओलीले वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरेका ईश्वर पोखरेल सर्वसम्मत भएका छन्। वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले उम्मेदवारी दिने महाधिवेशनमा हल्ला चले पनि पोखरेलको मात्रै उम्मेदवारी परेको हो।
महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन् भने उपमहासचिवमा केपी ओलीले नै नाम प्रस्ताव गरेका प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भएका छन्।
१९ पदाधिकारीमध्ये अध्यक्ष १, उपाध्यक्ष ६ र सचिव ७ पदका लागि चुनाव हुने भएको छ। ओलीले ६ उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव प्रस्ताव गरेका थिए। ६ उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि चुनाव हुने भएको छ।
यस्तै सचिवमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम ओलीले सिफारिस गरेका थिए।
तर, प्रदेश १ का ६८ दिने मुख्यमन्त्री भीम आचार्य र टंक कार्कीले सचिव पदमा उम्मेदवारी दिएपछि चुनाव हुने भएको छ। ओलीले पूर्वमाओवादीबाट एमालेमा लागेका बादलसहित टोपबहादुर रायमाझी र लेखराज भट्टराईलाई पदाधिकारीमै व्यवस्थापन गरेका छन्।
सचिव पदका उम्मेदवार टंक कार्की नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए। ‘५२ वर्षदेखि पार्टीमा योगदान गर्दै आएको छु, हरेक मुभमेन्टमा लागेको छु,’ कार्कीले उकेरासँग भने, ‘मैले कम्युनिस्ट विचार बोकेर उम्मेदवारी दिएको हुँ।’
ओलीले प्रस्ताव गरेकामध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्रै चुनाव हुने भएको छ। एमालेको दसौँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित हुन ओलीले प्रयासमा रावलले मात्रै चुनौती दिए।
रावल प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम विरुद्ध लागेका थिए। ओलीको कदमविरुद्ध लागेका माधवकुमार नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी दर्ता गरिसकेका छन्।
नेपालसँगै रहेका रावल नयाँ पार्टीमा गएनन्। उनीसँगै गएका सुरेन्द्र पाण्डेलाई ओलीले उपाध्यक्ष पदमा प्रस्ताव गरेका थिए। सचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईलाई ओलीले आफ्नो समूहमा राखे पनि भीम रावलले उपाध्यक्ष पदमा बस्न नचाहेपछि चुनाव हुने भएको हो।
ओलीलाई अगाडि केही भन्न नसक्ने तर नरुचाउने असन्तुष्टहरू, ओलीसँग विद्रोह गरेर माधव नेपालको दलमा जान नसकेकाहरूको मत पाउने रावलले अपेक्षा गरेका छन्। एमालेको महाधिवेशनमा २ हजार १५३ मतदाता छन्।
बिहान १० बजेसम्म उम्मेदवारी दर्ताको समय राखेको एमालेको निर्वाचन आयोगले बल्ल उम्मेदवारको नामावली प्रकाशन गरेको छ। उम्मेदवारको दावी विरोध लिएर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन।
संविधान वितरितका निर्णय गरेर सरकारबाट बाहिरिएका ओलीले आफू सर्वसम्मत अध्यक्ष बन्न अझै एउटा अस्त्र बाँकी नै छ। त्यो हो दाबी विरोध गरेर अध्यक्षका उम्मेदवार भीम रावलको उम्मेदवारी खारेज गराउनु।
ओली रावलको उम्मेदवारी कायमै रहँदा पनि अध्यक्ष आफैँ निर्वाचित हुनेमा ढुक्क छन्। केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटमा नै ओली विरोधीलाई सर्वसम्मतका नाममा ‘नो इन्ट्री’ गरिएको दावी रावल पक्षले गर्दै आएको छ।
तर, पनि रावलले अध्यक्षमा र उपाध्यक्ष घनश्याम भुषालले उपाध्यक्षमा उम्मेदवारी दिएर ओलीलाई चुनौती भने दिएका छन्।
ओलीको प्रस्ताव अस्वीकार गरेर लालबाबु पण्डितले भने केन्द्रीय सदस्यको पद नै त्यागेका छन्। उनले अहिलेलाई संगठित सदस्यमा मात्रै चित्त बुझाउने जवाफ दिएका छन्।
मंसिर १३, २०७८ सोमबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।