एमाले महाधिवेशन: शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी केन्द्रीय सदस्य

एमाले महाधिवेशन: शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी केन्द्रीय सदस्य

काठमाडौंः एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन्। ओलीले शंकर पोखरेललाई महासचिव बनाउँदा उनकी श्रीमती र बहिनी केन्द्रीय सदस्यमा प्रस्ताव भएका छन्। 

शंकर ओलीको उत्तराधिकारी बनिरहँदा शंकरकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेल केन्द्रीय सदस्यमा प्रस्ताव भएका छन्।मेनका त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन्। तर, महासचिव पोखरेलकै गृहजिल्ला दाङका एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का केन्द्रीय सदस्यको सूचीमा परेनन्।

टीकारामले आफूलाई भूगोलबाट केन्द्रीय सदस्यको प्रचार गरे पनि अन्तिममा उनको नाम काटियो। दाङबाट नयाँ अनुहारले केन्द्रीय सदस्य बन्ने मौका पाए।

पार्टी विभाजनकै क्रममा दाङमा ओली पक्षलाई साथ दिएका पुराना नेताहरू टाेपेन्द्र केसी, गिरिराज केसी, छविलाल ओली पनि अन्तिममा केन्द्रीय सदस्यको सूचीमा परेनन् भने छविलाललाई भने आयोगमा लगेर थन्क्याइयो।

मंसिर १३, २०७८ सोमबार १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।