कांग्रेस मोरङको सभापति पदका लागि पुनः निर्वाचन हुने 

कांग्रेस मोरङको सभापति पदका लागि पुनः निर्वाचन हुने 

इटहरीः नेपाली कांग्रेस मोरङको सभापति पदको लागि पुनः निर्वाचन हुने भएको छ। सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि पुनः मतदानको प्रकृया सुरु भएको हो।

आइतबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार संस्थापन इतर प्यानलका डिगबहादुर लिम्बूको धेरै मत आए पनि उनले बुहमत पुर्याउन भने सकेनन्। नेपाली कांग्रेसको विधानअनुसार ३ जना उम्मेदवार हुँदा ५१ प्रतिशत मत पुर्याउनुपर्ने हुन्छ। सोही बमोजीम इतर पक्षका लिम्बू र संस्थापन प्यानलका दिलीप गच्छदारबीच पुनः चुनाव हुने भएको हो। 

कुल ३४१४ मतमध्ये सभापतिको लागी ३३६० मत खसेको थियो। त्यसमा लिम्बूको पक्षमा १५४४, गच्छदारको पक्षमा ११६६ र अर्का स्वतन्त्र उमेद्धवार यदुकुमार बिष्टले ५६३ मत पाएका थिए। खसेको मतको ५१ प्रतिशत मत ल्याउन १७७० मत आवश्यक पर्ने थियो। जुन मत कुनै पनि उम्मेदवारले ल्याउन सकेनन्।

१३औं महाधिवेशनमा संस्थापन पक्षबाट विजयी भएका लिम्बूले इतर पक्षबाट उम्मेदवारी दिएका छन्। इतर पक्षका प्रभावशाली नेताहरू शेखर कोइराला, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, महेश आचार्य, केदार कार्की लगायतले लिम्बूलाई समर्थन गरेका छन्।

उता गच्छदारको पक्षमा केन्द्रीय सदस्य अमृत आर्याल लागिपरेका छन्। इतर पक्षका विष्टको उम्मेदवारीले लिम्बूलाई समस्या परेको हो।

विष्टले मोरङ कांग्रेसमा तेस्रो धारको सुरुआत गरेका छन्। पार्टीभित्र शुद्धिकरणको मुद्दा लिएर उनी निर्वाचनमा होमिएका थिए। 

मंसिर १३, २०७८ सोमबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।