गंगालाल अस्पतालमा अब एक हजारमै पिसिआर परीक्षण
काठमाडौं : सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा पिसिआर परीक्षण शुल्क एक हजार रुपैयाँ कायम गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनपछि अन्य सरकारी अस्पताल सरह पिसिआर परीक्षण शुल्क घटाइएको मन्त्रीको सचिवालयले जनाएको छ। सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो।
सचिवालयका अनुसार यसअघि अस्पतालले पिसिआर परीक्षण शुल्क १७ सय रुपैयाँ लिँदै आएको थियो।
सरकारी र निजी स्वास्थ्य संस्थामा पिसिआर परीक्षण वापत लिइएको शुल्कमा एकरुपता कायम गर्न तथा सो अस्पतालमा अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिइएको हो।
सचिवालयका अनुसार केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिल लगायतका सरकारी अस्पतालहरुमा पिसिआर परीक्षण शुल्क एक हजार कायम भएको जनाएको छ। विदेश जानेहरुका लागि भने त्रिभुवन विमानस्थल परिसरमै निजी संस्थाले एक हजार दुई सय लिइरहेको छ।
‘मुटुको शल्यक्रिया गर्ने बिरामीको पिसिआर गर्दा शुल्क एक हजार मात्र लिने मिल्न गरी बिलिङ र सफ्टवेयर प्रणाली सोमबारबाटै कार्यान्वयनमा आएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए।
मंसिर १३, २०७८ सोमबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।