नेम्वाङ नीति : सर्वसम्मतमा वरिष्ठमा दबाब, चुनाव हुँदा उपाध्यक्षमा मनोनयन

नेम्वाङ नीति : सर्वसम्मतमा वरिष्ठमा दबाब, चुनाव हुँदा उपाध्यक्षमा मनोनयन

चितवन : केपी ओलीबाहेक अन्यलाई नेता मान्दिन भन्दै वरिष्ठ उपाध्यक्षको दाबी गरेका सुवास नेम्वाङले निर्वाचन भएपछि उम्मेदवारी दिएनन्।

सहमतिको आधारमा नेतृत्व चयन गर्न ओली आइतबार दिनभर गृहकार्यमा रहँदा वरिष्ठ उपाध्यक्ष आफूलाई दिन या पदै खारेज गर्न उनले दबाब बढाएका थिए।

आफूले कहिल्यै निर्वाचन नहारेको र पोखरेललाई नेता स्वीकार गर्न नसक्ने भन्दै उनले ओलीलाई दबाब दिइरहे। अन्तमा निर्वाचन पक्का भयो। वरिष्ठ उपाध्यक्षमा पोखरेलले उम्मेदवारी दिए। नेम्वाङ मौन बसे।

वरिष्ठमा अर्को कसैको उम्मेदवारी नपरेकाले पोखरेल निर्विरोध भए। महासचिवमा दाबी गरिरहेका सुरेन्द्र पाण्डेले पनि उम्मेदवारी दिएनन्।

यी दुवै ओलीले बनाएको सूचीमा उपाध्यक्षमा अटाएका छन्। पदाधिकारीमा दाबी गरेका अधिकांश महिला नेतृहरू केन्द्रीय सदस्यमै मौन बसेका छन्। सचिव दाबी गरेका गोकुल बास्कोटा ओली सूचिमा केन्द्रीय सदस्यमा मात्र अटाएपछि त्यसैमा चित्त बुझाए।

विष्णु रिमाल उपमहासचिवहुँदा टोपबहादुर रायमाझी सचिवको उम्मेदवार बनेका छन्। अध्यक्ष, उपाध्यक्ष र सचिवमा ओलीको इच्छा विपरीत अन्य नेताहरूले उम्मेदवारी दिएकाले निर्वाचन हुने भएको छ। पदाधिकारीमा अन्य पद निर्विरोध भएको छ।

मंसिर १३, २०७८ सोमबार १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।